• १८ फागुन २०८२, सोमबार

जुनावी ऐजन्डा बन्दै रानीसैन

blog

शेरबहादुर सार्की

बाजुरा, फागुन १८ गते । बाजुराको हिमाली गाउँपालिका–३ मा पर्ने पर्यटकीय स्थल रानीसैन यती बेला राजनीतिक दलको जुनावी ऐजन्डा बन्दै गएको छ । 

प्राकृतिक रूपमा निकै आकर्षक रहेको भए पनि यो लामो समयदेखि गुमनाममा रहँदै आएको थियो । २०७५ सालदेखि यसलाई थोरै मात्रामा भए पनि यहाँका हिमाली गाउँपालिकाले चासो देखाउँदै आएपछि अहिले रानीसैन प्रख्यातमा आउने गरेको छ । 

हिमालीका स्थानीयका लागि मात्र नभई यो जिल्लावासीका लागि एक आयस्राेतका रूपमा रहेकोले यतिबेला यसलाई संरक्षण तथा प्रवर्धन गर्ने गरी यहाँका राजनीतिक दलले आफ्नो चुनावी ऐजन्डा बनाएको हुन् । 

नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी तथा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले रानीसैन बडीमालिका कालाजाग्रालगायतका पर्यटकीय स्थललाई संरक्षण तथा प्रवर्धन गर्ने प्रतिबद्धता जनाएका छन् । 

पर्यटकीय स्थल मध्यकै यहाँको बडीमालिका कालाजाग्रालाई बीरे झर्ना बुढीनन्दा ताललाई केही विकास गर्ने पहल भए पनि रानीसैनको संरक्षण तथा प्रवर्धनका लागि कतै देखि केही पहल भएको थिएन । 

२०७५ साल देखि यहाँका हिमाली गाउँपालिकाले यसको संरक्षण तथा प्रवर्धन गर्ने गरी केही सवाल उठाएपछि यतिबेला यो दलका विभिन्न उम्मेदवारहरूले पनि यसलाई चुनावी ऐजन्डा बनाएका हुन् । 

आन्तरिक तथा बाह्य पर्यटकलाई निकै आकर्षित पार्दै आएको रानीसैन निकै मनमोहक छ । रानीसैन एक विकट क्षेत्रमा पर्ने भए पनि यहाँ पुग्ने गरेका पाहुनाले भने यसलाई स्वर्ग नै महसुस गर्ने गरेका छन्। 

हिमाली गाउँपालिका–३ बीरबहादुर रोकायाले , “यो ठाउँमा घुम्न र रमाउन जानेका लागि विभिन्न किसिमका भौतिक संरचना निर्माण गरिए यसले जिल्लाकै महिमा बढाउने बताउनुभयो ।

सरकारले यसको संरक्षण तथा प्रवर्धन गर्ने हो भने यसैबाट यहाँका स्थानीयलाई जिविकोपार्जनमा निकै टेवा  पुग्ने रोकायाले बताउनुभयो । 

रानीसैन लामो समयदेखि आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा रहँदै आएको छ  । छिमेकी जिल्ला बझाङको साइपाल र मानसरोवर जान रानीसैनबाट नजिक हुन्छ । बाहै्र महिना चिसो हुने यो ठाउँ निकै सुन्दर भए पनि यसको संरक्षण भने अझै नहुन सक्दा यसको अस्तित्व लोप हुँदै गएको छ । 

रानीसैन बाजुरा, हुम्ला र बझाङको बिचमा अवस्थित छ । यहाँ प्रत्येक वर्षमा बाजुरा र हुम्लाका बौद्ध धर्मालवम्बी जम्मा हुन्छन् । यहाँ एक ठुलो गुम्बा पनि छ । यसको व्यवस्थापनका लागि पालिकाले प्रत्येक वर्ष दुई लाख रुपियाँ छुट्याउने गरेको छ ।  

वर्षको एक पटक उनीहरू यो ठाउँमा अनिवार्य जम्मा हुने गरेकाले बास बस्न र खानसमेत सहज हुने गरी पालिकाले गुम्बालाई रकम छुट्याउने गरेको छ । यो ठाउँ झन्डै चार हजार चार सयदेखि पाँच हजार मिटरको उचाइमा छ । 

यहाँ चारैतिर ठुला हिमाल छन् । ती हिमालको फेदीमा छ रानीसैन । यसलाई बाजुराको उपत्यका पनि भनिन्छ । चारैतिर डाँडा अर्थात् सेता हिमाल र त्यसमुनि फैलिएको समथल भूभाग हो– रानीसैन । 

हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले , “प्रकृतिको अनुपम यो ठाउँ देख्दा निकै आकर्षक छ । यो ठाउँलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने हो भने जसरी राराले मुगुलाई चिनाउँछ, त्यसै गरी रानीसैनले पनि बाजुरालाई चिनाउने बताउनुभयो । 

उद्योग वन तथा पर्यटन मन्त्रालयमा धेरै पटक यसको संरक्षण र प्रवर्धनका लागि माग गर्दै आए पनि अहिलेसम्म कतैबाट केही सुनुवाइ नभएको हिमाली गाउँपालिकाका अध्यक्ष मल्लले बताउनभुयो ।