भवानीदत्त भट्ट
कञ्चनपुर, फागुन १७ गते । कञ्चनपुर निर्वाचन क्षेत्र–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जनक सिंह धामी ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै न्याय प्रणाली सुधारसहित आरक्षपीडितका समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ।
निर्वाचन नजिकिएसँगै स्थानीय क्षेत्रका समस्याको समाधान र भ्रष्टाचार उन्मूलनमा पहल गर्ने धामीको बाचा–पत्रमा उल्लेख छ।
धामीले आफ्नो बाचा–पत्रमा उल्लेख गर्नुभएको अन्य मुख्य पहलहरू यस प्रकार छन् :-
पूर्वाधार र सुरक्षाः बेलडाँडीको चौधर नदी लगायत तटबन्ध आवश्यक स्थानमा दिगो व्यवस्थापन गर्ने, पाँच वर्षभित्र हुलाकी मार्ग तथा मुख्य सडक कालोपत्रे गर्ने।
पर्यटन र वातावरणः प्याराताल, बन्दा ताल, शोभाताल, सिक्रिकुन्डा, कालिकिच लगायत ताल–तलैयाको संरक्षण गरी पर्यटकीय स्थलमा रूपान्तरण, स्थानीय रोजगार र आय वृद्धि।
सुविधा र सार्वजनिक सेवाः स्वच्छ खानेपानी, फोहर मैला व्यवस्थापन, सार्वजनिक सम्पत्ति सदुपयोग, सीमा सम्बन्धी समस्या समाधान, महाकाली सिँचाइ आयोजनाबाट प्रभावित खेती योग्य जमिनको समस्या समाधान।
अर्थतन्त्रः बेलौरी भन्सार स्तरोन्नति र कूटनीतिक पहलमार्फत नाका विकास, कृषि, पर्यटन, उद्योग र सेवामा आधारित रोजगारी सिर्जना, उद्यम विकास केन्द्र सञ्चालन, नयाँ उद्यमीलाई सहुलियतपूर्ण कर्जा।
सार्वजनिक प्रशासन र सुशासनः सरकारी निकायमा पारदर्शिता र जबाफदेहिता अनिवार्य, हरेक ६ महिनामा सार्वजनिक सुनुवाइ र सामाजिक परीक्षण, डिजिटल प्रणालीमार्फत छिटो र सरल सेवा।
भ्रष्टाचार नियन्त्रणः अख्तियार र निगरानी निकायलाई स्वतन्त्र र शक्तिशाली बनाउँदै भ्रष्टाचारमा शून्य सहनशीलता नीति।
न्याय प्रणाली सुधारः मुद्दा दर्तादेखि फैसला सम्म समयसीमा लागू, स्थानीय न्यायिक समितिको सुदृढीकरण, पीडित मैत्री न्याय सुनिश्चित।
महिला र युवाः महिला तथा युवा स्टार्टअप नीति, ब्याजरहित स्टार्टअप फन्ड, सुरक्षित वैदेशिक रोजगारीका लागि आवश्यक सीप र भाषा तालिम।
सामाजिक न्याय र समावेशिताः घरेलु र लैङ्गिक हिंसा विरुद्ध कानुनी सहायता, अपाङ्गमैत्री पूर्वाधार, ज्येष्ठ नागरिक भत्ता वृद्धी, जातीय विभेद विरुद्ध कडा कानुन, मानव अधिकार र नैतिक शिक्षा विद्यालय तहबाटै प्रोत्साहन।
शिक्षा, स्वास्थ्य र खेलकुदः सामुदायिक विद्यालयलाई गुणस्तरीय बनाउने, शिक्षकलाई नियमित तालिम र मूल्याङ्कन, पालिकामा एक/एक अस्पतालमा २४ घण्टा विशेषज्ञ सेवा।
कृषिः कृषकको सम्मान र सुरक्षा सुनिश्चित गर्न परिचयपत्र, न्यूनतम समर्थन मूल्य निर्धारण, उत्पादन आधारमा अनुदान, आधुनिक कृषि प्रविधि, बीउ, मल र अनुसन्धानमा जोड।
धामीले आफ्नो चुनावी बाचा–पत्र मार्फत न्याय, सुशासन, स्थानीय विकास, सामाजिक न्याय, रोजगारी र कृषक अधिकारको सुनिश्चितता गर्न प्रतिबद्धता व्यक्त गर्नुभएको छ।