गोरखापत्र अनलाइन
काठमाडौँ, फागुन १० गते । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता शिक्षाका लागि गोरखापत्र संस्थानले आइतबार अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन निर्वाचन आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गर्नुभयो ।
कावा प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनको विकल्प निर्वाचन मात्र भएकाले निर्धारित समयमा निश्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गर्नुको विकल्प नभएको बताउनुभयो । निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएकाले निर्वाचनबाटै सुशासन कायम गर्न सकिने उहाँले धारणा राख्नुभयो । प्रमुख भण्डारीले थप्नुभयो, “जसरी पनि निर्वाचन निर्धारित समयमा हुनुपर्छ । कुनै भ्रममा कोही पर्नु हुन्न ।”
फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तय भएको बताउनुहुँदै प्रमुख भण्डारीले भन्नुभयो, “निर्वाचन सम्पन्न गराउन निर्वाचनले सुरक्षासहित व्यवस्थापनको उचित व्यवस्थापन गर्नुपर्छ ।” निर्वाचन निष्पक्ष र भयरहित बनाउन मिडियाको भूमिका पनि महत्त्वपूर्ण हुने बताउँदै उहाँले मिथ्या सूचना प्रवाह नगर्न उहाँले आग्रह गर्नुभयो ।
निर्वाचन निर्धारित समयमा नभए मुलुकमा अर्को समस्या निम्तिने खतरा रहेकाले निर्वाचन समयमै हुने उहाँको भनाइ छ । निर्वाचन नेपालीका लागि महायज्ञ भएकाले सबै जिम्मेवार भएर लाग्नुपर्ने उहाँले बताउनुभयो ।

गोरखापत्र संस्थानका अध्यक्ष गोविन्दप्रसाद (अखण्ड) भण्डारीले निर्वाचनलाई भयरहित, निष्पक्ष र स्वतन्त्र बनाउन मिडियाको भूमिका महत्त्वपूर्ण रहेको त्यसका लागि मिडियालाई पनि मतदाता शिक्षा तथा अनुशिक्षण आवश्यक रहेको बताउनुभयो । गोरखापत्र संस्थानले आयोगद्वारा जारी निर्वाचन आचारसंहिताको उल्लङ्घन नगरेको बताउँदै उहाँले सबै मिडिया आचारसंहित कार्यान्वयनमा जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्रले स्वतःस्फुर्त रूपले निर्वाचनबारे विषय वस्तुहरू पस्कदै आएको बताउँदै निर्वाचन आचारसंहिता कार्यान्वयनमा पनि प्रतिबद्ध रहेको बताउनुभयो । निर्वाचन निर्धारित समयमा सम्पन्न गर्ने दायित्व मिडियाको पनि भएकाले गोरखापत्र संस्थानले सो भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । गलत सूचनाको बाढी सामाजिक सञ्जालमा भए पनि गोरखापत्रको प्रकाशनमा गलत सूचना प्रवाह नभएको बताउनुभयो ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनमा बदर मत घटाउन मतदाता शिक्षाको आवश्यकता रहेको बताउनुभयो । आयोगले सोही तथ्यलाई मध्यनजर गर्दै मतदाता शिक्षालाई प्राथमिकता दिएको उहाँले बताउनुभयो । सञ्चार माध्यमले कुनै उम्मेदवारको पक्ष वा विपक्षमा समाचार पस्कन नहुने बताउँदै उहाँले गोरखापत्रले सन्तुलित समाचार दिएर विश्वास जितेको बताउनुभयो ।

सामाजिक सञ्जालमा प्रवाह भइरहेका मिथ्या, गलत, विशाक्त सूचनालाई निरुत्साहित गर्न मिडियाकर्मी लाग्नुपर्ने उहाँले बताउनुभयो । सत्य सूचना प्रवाह गर्दा कोही भ्रममा नपर्ने उहाँको भनाइ छ । निर्वाचन आचारसंहिता कार्यान्वयन गरे गलत सूचना प्रवाह स्वतः निरुत्साहित हुने उहाँले बताउनुभयो ।
गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेतले निर्वाचन लोकतान्त्रिक प्रक्रिया भएकाले यसको सफलतासँग मुलुकको लोकतन्त्रको सफलता कायम हुनेगरेको बताउनुभयो । गोरखापत्रले विभिन्न ४६ भाषामा सूचना समाचार सम्प्रेषण गरी समावेशी आधारमा समाचार पस्किरहेको बताउनुभयो ।

संस्थानका अध्यक्ष भण्डारीको सभापतित्वमा भएको उदघाटन सत्रमा गोरखापत्र सञ्चालक समितिका सदस्य लक्की चौधरी, राइजिङ नेपालका निमित्त प्रधान सम्पादक विष्णुप्रसाद गौतम, डिजिटल संयोजक नारदमुनि गौतम, प्रबन्धक सम्पादकद्वय रामप्रसाद आचार्य र रमेश लम्साल, मासिक प्रकाशनका सम्पादकहरू, विभागीय प्रमुख तथा गोरखापत्र संस्थानमा कार्यरत कर्मचारी, पत्रकार, भाषाभाषिका संयोजक तथा प्रतिनिधिहरूको सहभागिता थियो ।