• २ फागुन २०८२, शनिबार

हात्तीले बालिकाको ज्यान लिएपछि मतदाता रुष्ट

blog

हात्तीले भत्काएको स्थानीय अम्मरसिंह विष्टको घर ।

भवानीदत्त भट्ट 

बेलौरी (कञ्चनपुर), फागुन २ गते  । कञ्चनपुरको लालझाँडी गाउँपालिका–६ स्थित ढक्का चानदेवमा बस्दै आएका स्थानीय रुष्ट भएका छन् । जङ्गली हात्तीको त्रासले कष्टकर जीवन बिताउन बाध्य यहाँका स्थानीयले आगामी निर्वाचनमा भने भोट नहाल्ने बताएका छन् । गत माघ २४ गते राति हात्तीको आव्रmमणबाट एक बालिकाले ज्यान गुमाएपछि यहाँका स्थानीय उम्मेदवारप्रति रुष्ट बनेका हुन् । हजुर आमासँगै घरमा सुतेकी छ वर्षीय बालिका रोजिना साउद घरबाट भाग्ने व्रmममा हात्तीले कुल्चँदा गम्भीर घाइते भएपछि उपचारका व्रmममा ज्यान गुमाउनु परेको थियो । उहाँका हजुरआमा पार्वती साउद अस्पतालमा उपचाररत हुनुहुन्छ । 

निर्वाचनका उम्मेदवार यहाँको अवस्था बुझ्न नआएपछि भोट नै नहाल्ने बताउन थालेका छन् । स्थानीय द्रोपती नायकले हात्तीको त्रासले रातदिन जाग्राम बस्दै आएको बताउनुभयो । बस्तीमा हात्ती पसेर ज्यान जोगाउन मुस्किल परेको अवस्थामा समेत यस क्षेत्रबाट उम्मेदवार बनेका एक पटक पनि आफूहरूको पीडा बुझ्न यहाँ नआएपछि आगामी निर्वाचनमा कसैलाई पनि भोट नहाल्ने उहाँले बताउनुभयो । 

हात्तीबाट ज्यान जोगाउनका स्थानीय एक सातादेखि टाढा आफन्तकहाँ बास बस्दै आएको बताउँछन् । गत साता तेस्रो पटक हात्तीले घर भत्काएपछि परिवारसहित आफन्तकहाँ बास बस्दै आएको यहाँका स्थानीय अम्मरसिंह विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “नजिकै छिमेकीको घरमा हात्तीले छ वर्षीय बालिका रोजिनाकोे ज्यान लियो । हात्तीकै त्रासका कारण एक सातादेखि आफन्तकहाँ बास बस्दै आएका छौँ ।” २० वर्षदेखि ढक्कामा बस्दै आउनुभएका सुन्दरसिं नायक हालसम्म हात्तीले चार पटक घर भत्काएको बताउनुहुन्छ । गत साता भने छिमेकी बालिकाको ज्यान नै लिएपछि हात्तीको त्रासले घर नै छोडेर अन्यत्र बस्दै आएको उहाँले सुनाउनुभयो । 

हात्तीको त्रासले चार जना परिवारका सदस्यसहित उहाँ झन्डै तीन किलोमिटर पर अस्थायी टहरा बनाएर बस्दै आएको बताउनुहुन्छ । जङ्गली हात्तीको आतङ्कले ज्यान जोगाउन मुस्किल परेको बताउनुहुँदै उहाँले आगामी निर्वाचनमा कसैलाई भोट नहाल्ने बताउनुभयो । यसअघिका निर्वाचनमा जनावरबाट बस्ती जोगाउन नेपाली सेना परिचालन गरेर रात दिन पहरा दिने भन्दै उम्मेदवारले आश्वासन दिएको उहाँले बताउनुभयो । हात्ती बस्तीमा पसेर अन्नबाली सखाप पार्दे, घर भत्काउँदै मानिसको ज्यान लिँदासमेत पीडा बुझ्न कोही पनि उम्मेदवार यहाँ नआएकाले आगामी निर्वाचनमा भोट नै नहाल्ने उहाँले बताउनुभयो । 

चानदेवका स्थानीय महिला वासुदेवी दमाईंले नेताहरूले झुटा वाचा गरेकै कारण आफूहरूले घर छोडेर अन्यत्र बस्नुपर्ने बाध्यता रहेको बताउनुभयो । घर छोड्नुपर्ने बाध्यताको अन्त्य गर्न सक्ने उम्मेदवार नभेटिएकाले आगामी निर्वाचनमा कसैलाई भोट नहाल्ने उहाँले बताउनुभयो । स्थानीयले बस्तीको सुरक्षा प्रदान गर्न तथा जनावरबाट पुगेको क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउन उम्मेदवारलाई माग गरेका छन् । झुटा वाचा गरेर भोट माग्ने कार्य नगर्नसमेत उनीहरूले आग्रह गरेका छन् ।