• २८ माघ २०८२, बुधबार

भारत लैजान लागेका तीन नेपाली बालबालिकाको उद्धार

blog

बालबालिका लैजाँदा गर्दा नियन्त्रणमा लिइएका नेपाली नागरिक । तस्बिर : यज्ञप्रसाद सापकोटा

यज्ञप्रसाद सापकोटा
गुलरिया(बर्दिया), माघ २८ गते ।
बर्दियामा भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई प्रहरीले उद्धार गरेको छ । मङ्गलबार राति प्रहरीले गुलरिया नगरपालिका वडा नं ७ भन्सार रोडबाट उद्धार गरेको हो ।

उद्धार गरिएका बालबालिकामा रोल्पा उपरकोटका १५ वर्षीया  बालिका, रोल्पा खाराका १३ वर्षीय बालिका रहेका छन् भने दाङ चौघेरा पुलवारीका ८ वर्षीय बालक रहेका छन् । उनीहरूका परिवार प्रहरीको सम्पर्कमा आइसकेका छन् ।

नेपाली बालबालिका लैजादै गरेका भारत उत्तर प्रदेश बहराइच जिल्लाका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले सोही ठाउँकी ७४ वर्षीय लेडी महत, उनका छोरा ३४ वर्षीय हिरालाल महत, बुहारी २६ वर्षीय ज्ञानकुमारी महतलाई नियन्त्रणमा लिएको छ । त्यसैगरी उत्तरप्रदेश अयोध्या गोलाई गाउँकी ३५ वर्षीया सुनिता महत, बहराईचका २४ वर्षीय भुल्लु महत र १९ वर्षीय मुकेश महतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्र कुमार मल्लले बताउनुभयो । उनीहरूको साथमा काखे बालक पनि साथमा रहेका छन् ।

प्रारम्भिक अनुसन्धानमा नियन्त्रणमा लिएका उनीहरू दाङको घोराही बजारमा गमलाको काम गर्दे आएको खुलेको प्रहरीले जनाएको छ । पहिलेदेखि नै भारतीय नागरिकसँग नेपाली बालबालिका बस्दै आएको खुलेको भए पनि भारतमा कुन प्रयोजनका लागि लैजान खोजिएको भन्ने अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले बताउनुभयो । उहाँले सम्बन्धित जिल्लामा बालबालिकाको आफन्तहरूसँग सम्पर्क गर्ने प्रयास भइरहेको बताउनुभयो ।