रमेश विश्वकर्मा
गुल्मी, माघ २८ गते। गुल्मीमा इभी गाडी दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार, धुर्कोट गाउँपालिका–५, धनार्जे लामीडाँडास्थित मदन भण्डारी पक्की सडक खण्डमा बुधबार बिहान इभी गाडी दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) गङ्गाबहादुर सारुका अनुसार, लु.प्र.०१–००१ ज ०४३५ नम्बरको गाडी धनार्जेबाट तम्घासतर्फ आउँदै गर्दा अचानक स्टेरिङ फेल भई गाडी सडकबाट करिब २०–२५ मिटर तल खसेको हो।
गाडी चालक राजु कुँवर (३२, इस्मा गाउँपालिका–२) हुनुहुन्थ्यो। दुर्घटनामा सह–चालक ईश्वर कुँवर (१८, सोही स्थान) सामान्य घाइते हुनुभएको छ। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास पठाइएको छ।
घाइते बाहेक गाडीमा अन्य कुनै यात्रु थिएनन्। गाडी घटनास्थलमै रोकिएको छ। प्रहरी चौकी धनार्जेबाट वरिष्ठ हवलदार गुनबहादुर बोहोराको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।