अजय शाह
गौशाला (महोत्तरी), माघ २८ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीका उम्मेदवार तथा कार्यकर्तालाई घर–घरमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्न निर्देशन दिनुभएको छ ।
महोत्तरी क्षेत्र नं १ को पार्टीको प्रचार प्रसार कार्यालय बर्दिवासमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सभापति थापाले आगामी पाँच वर्ष देश निर्माणको जिम्मेवारी कांग्रेसलाई दिन जनतासमक्ष आग्रह गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले जनविश्वास जित्नु नै निर्वाचनको मुख्य आधार भएको उल्लेख गर्नुभयो ।
“अब कांग्रेसका कार्यकर्ता घर–घरमा पुगेर जनतालाई पाँच वर्ष देशको जिम्मा कांग्रेसलाई दिनुपर्छ भन्ने विश्वास दिलाउनुपर्छ,” उहाँले भन्नुभयो, “चुनाव जित्नु मात्र होइन, काम गरेर देखाउने जिम्मेवारी हाम्रो हो ।”
सभापति थापाले सरकारमा सहभागी भएपछि मन्त्रालयहरूको कार्यसम्पादन नियमित अनुगमन र समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “प्रत्येक महिनामा मन्त्रालयले गरेका काम सार्वजनिक रूपमा प्रस्तुत गर्नुपर्छ,” उहाँले भन्नुभयो, “जवाफदेहिता र पारदर्शिताबिना सुशासन सम्भव हुँदैन ।”
उहाँले विगतमा देखिएका सांसद खरिद–विक्री जस्ता गतिविधि लोकतन्त्रका लागि लज्जास्पद भएको उल्लेख गर्दै त्यसको अन्त्यका लागि कडा कदम चाल्नुपर्नेमा जोड दिनुभयो । “सांसद किनबेचको अभ्यासले लोकतान्त्रिक मूल्य कमजोर बनाउँछ,” उहाँको भनाइ थियो ।
उहाँले प्रदेश र केन्द्रका विकास योजना, पार्टीका नीतिहरू र आगामी निर्वाचनको महत्वबारे मतदातालाई अवगत गराउनुभयो।
स्थानीय जनप्रतिनिधि र पार्टी कार्यकर्ताले सभापति थापाको उपस्थितिलाई क्षेत्रीय विकास र राजनीतिक सक्रियताको अवसरका रूपमा लिएका छन्। निर्वाचन नजिकिँदै गएसँगै बर्दिवासमा राजनीतिक माहोल तातेको छ ।
कार्यक्रममा सहभागी कार्यकर्ताले संगठनलाई थप सुदृढ बनाउँदै जनतासँग निरन्तर सम्पर्कमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् । मङ्गलवार अबेर राति बर्दिवास आइपुग्नु भएको सभापति थापासँग भेटघाट कार्यक्रमलाई संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीति तय गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिइएको छ ।
सो अवसरमा महोतरी क्षेत्र नं. १ का उम्मेदवार डा मुकेश राज काफ्ले, क्षेत्र नं. २ का उम्मेदवार किरण यादव र क्षेत्र नं.४ का उम्मेदवार महेन्द्र कुमार समेत सहभागि हुनु भएको थियो ।