• २८ माघ २०८२, बुधबार

भूमि समस्या समाधानका लागि उम्मेदवार प्रतिबद्ध

blog

भूमिहीनसमक्ष प्रतिबद्धता राख्दै उम्मेदवार । तस्बिर : यज्ञप्रसाद सापकोटा

गुलरिया समाचारदाता

गुलरिया (बर्दिया), माघ २८ गते । भूमिहीनले भूमि समस्या समाधानका लागि उम्मेदवारका प्रतिबद्धता खोज्दै आफ्ना माग घोषणापत्रमा समावेश गर्न ध्यानाकर्षणपत्र बुझाएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बर्दिया क्षेत्र नं. १ का भूमिहीनले उम्मेदवारसँग प्रतिबद्धता खोजेका हुन् । लामो समयदेखि विभिन्न समस्या झेल्दै आएका उनीहरूले समस्या समाधानका लागि के कस्ता एजेन्डा छन् भनेर प्रश्न गरेका छन् । 

भूमिहीनले उम्मेदवारसमक्ष आठबुँदे मागपत्रसमेत पेस गरेका छन् । मागपत्रमा भूमिहीन सुकुमवासी, मोही, मुक्त कमैया, जोताहा किसान, बाढी तथा आरक्षपीडित नागरिकलाई सुरक्षित आवास र खेतीयोग्य जमिनको सुनिश्चितता गर्नुपर्ने माग गरेका छन् । त्यसै गरी १० वर्ष अगाडिदेखि बसोबास गरेका भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा दिनुपर्ने, कृष्णसार संरक्षण क्षेत्रभित्र बर्सौंदेखि बसोबास गरेका भूमिहीनलाई व्यवस्थापन गर्नुपर्नेलगायतका माग अगाडि सारेका छन् ।

भूमि अधिकार मञ्च बर्दियाको आयोजनामा भएको कार्यक्रममा भूमिहीन लक्ष्मी मल्लले भूमिहीन सुकुमवासी, मोही, मुक्त कमैया, जोताहा किसान, बाढी तथा आरक्षपीडित सबै नागरिकलाई सुरक्षित आवास र खेतीयोग्य जमिनको सुनिश्चितता हुनुपर्ने माग गर्नुभयो । भूमि अधिकार मञ्चका अध्यक्ष केशबहादुर विकले केही समय अगाडिदेखि भूमि समस्या समाधान आयोगको काम रोकिएकोमा तत्काल काम सुरु गर्नुपर्ने बताउनुभयो । उहाँले भूमि ऐन, २०७६ संशोधन गरी लागु गरेर विगत १० वर्षदेखि जोतभोग गर्दै आएका भूमिहीनलाई जग्गा दिनुपर्ने बताउनुभयो । उम्मेदवारले जसले जिते पनि बर्दियाको भूमि समस्या समाधानका लागि एक भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा (एमाले) का तर्फबाट बर्दिया क्षेत्र नं. १ का उम्मेदवार  सालिकराम अधिकारीले भूमिहीनको समस्या समाधान गर्न स्थायी सरकार आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भूमिहीनको समस्या समाधानमा देखिएको समस्याको गाँठो फुकाउन म यहाँहरूको साथमा छु । संविधानले दिएको अधिकारलाई पूरा गर्न आवश्यक पर्ने कानुन निर्माण गरी जग्गा प्राप्तिको मुद्दा समाधान गर्न हामी प्रतिबद्ध छौँ ।”नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विष्णुप्रसाद थारूले भूमिहीनले राखेको समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भूमिहीनको समस्या समाधान गर्नका लागि कानुनी जटिलता छ । त्यसको समाधानका लागि कानुनको संशोधन गर्न आवश्यक छ ।”

नेपाली कांग्रेसबाट समानुपातिक उम्मेदवार मिश्रीलाल यादवले बर्सौंदेखि भूमिहीनले भोग्दै आएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भूमिहीनको समस्या समाधानको लागि गर्नुपर्ने काममा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ठाकुरसिंह थारूले भूमिहीनको मुद्दामा दलहरूले राजनीति गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म निर्वाचित भएका नेताहरूले सुकुमवासीका नाममा राजनीति गरे तर भूमिहीनको समस्या समाधान गर्न चासो देखाएनन् । राजनीतिक प्रतिबद्धता भए एक वर्षभित्र भूमिहीनको समस्या समाधान गर्न सकिन्छ ।” नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार अब्दुल खानले भूमि पाउनु नैसर्गिक अधिकार भएकोले निर्वाचित भएपछि जसरी पनि समस्या समाधान गर्ने बताउनुभयो । बर्दिया जिल्लामा भूमिहीन दलित चार हजार आठ सय, भूमिहीन सुकुमवासी आठ हजार एक सय र अव्यवस्थित बसोबासी ३१ हजार नौ सय घरपरिवार रहेको भूमि समस्या समाधान आयोगको तथ्याङ्क रहेको छ ।