सिन्धुली समाचारदाता
सिन्धुलीमाढी, माघ २८ गते । सिन्धुली जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन रोचक बन्दै गएको छ ।
पाँच स्वतन्त्रसहित १६ जना उम्मेदवार रहेको यस क्षेत्रमा चुनावी प्रतिस्पर्धाका लागि मैदानमा उत्रेका छन् । यस क्षेत्रमा नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारले आफ्नै पार्टीका बागी उम्मेदवारको सामना गर्नु परेको छ ।
मुख्य दुई ठुला दलका उम्मेदवारले बागी उम्मेदवारको सामना गर्नु परेपछि त्यसको फाइदा उठाउँदै नेकपा (एमाले) का उम्मेदवार आफ्नो पक्षमा जित निकाल्न लागिपरेका छन् । कांग्रेसका उम्मेदवार सुशीला थिङबिरुद्ध सोही पार्टीका पूर्वजिल्ला उपसभापति खड्गबहादुर वाइबाले स्वतन्त्र रूपमा उम्मेदवारी दिनुभएको छ । त्यस्तै नेकपाका उम्मेदवार लेखनाथ दाहाल ‘राजन’ विरुद्ध सोही पार्टीका नेता महेश्वर दाहालले स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । यी दुई ठुला दलमा भएको विद्रोहको फाइदा एमालेका उम्मेदवार मनोजजङ्ग थापाले उठाउन सक्ने आकलन गरिएको छ ।
एमालेका उम्मेदवार थापा र नेकपाका उम्मेदवार राजनबिच २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि सोही क्षेत्रमा प्रतिस्पर्धा भएको थियो । त्यतिबेला नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बिचको गठबन्धनका कारण हालका नेकपाका उम्मेदवार दाहालले एमालेका उम्मेदवार थापालाई झन्डै छ हजार मतान्तरले पराजित गर्नुभएको थियो ।
कांग्रेसका जिल्ला सचिव ईश्वर बस्नेत उक्त पार्टीका उम्मेदवार थिङविरुद्ध आफ्नै पार्टीका नेता बागी उम्मेदवार बने पनि उहाँ (वाइबा) को जनाधार कमजोर रहेकाले त्यसले धेरै प्रभाव नपर्ने बताउनुहुन्छ । “हामी जित निकाल्ने रणनीतिसहित चुनावी अभियानमा होमिएका छौँ,” उहाँले भन्नुभयो, “नेकपामा प्रभावशाली नेताको विद्रोह गरी उम्मेदवार बन्नु र एमालेभित्र पनि असन्तुष्टि व्याप्त रहेकाले कांग्रेसको उम्मेदवारको पक्षमा जित निकाल्न लागिपरेका छौँ ।”
उता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आशिष गजुरेल पनि निर्वाचन परिणाम आफ्नो पक्षमा ल्याउन घरदैलो र मतदाता भेटघाटमा व्यस्त बन्नुभएको छ । सो पार्टीका जिल्ला सचिव लालप्रसाद देवकोटा रास्वपा उम्मेदवार गजुरेलको पक्षमा मतपरिणाम आउने दाबी गर्नुहुन्छ ।
त्यस्तै नेकपाका उम्मेदवार दाहालविरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएका सोही पार्टीका नेता महेश्वर दाहाल पनि चुनावी प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ । स्वतन्त्र उम्मेदवार दाहालको प्रस्तावकमा पूर्वमन्त्री हरिबोल गजुरेल र समर्थकमा पार्टीका जिल्ला संयोजक पानीराज बम्जन हुनुहुन्छ । प्रस्तावक गजुरेलले पार्टीभित्र विधि र पद्धतिलाई स्थापित गर्न स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो । नेकपाले जिल्लाबाट सिफारिस नै नगरेका लेखनाथ दाहाललाई उम्मेदवार बनाएपछि जिल्लाका नेताहरूले विद्रोह गरेका हुन् । स्वतन्त्र उम्मेदवार दाहालको पक्षमा नेकपाका केन्द्रीय नेता हरिबोल गजुरेल, जिल्ला इन्चार्ज वसन्त माझी, जिल्ला संयोजक पानीराज बम्जनलगायतका नेता खुलेर लाग्नुभएको छ । नेकपाका उम्मेदवार लेखनाथ दाहाललाई जिल्लाले क्षेत्र नं. १ बाट उम्मेदवार सिफारिस गरिएको थियो ।
कांग्रेस उम्मेदवार थिङविरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएका वाइबाले टिकट वितरण कार्यकर्ताको भावनाविपरीत र पार्टीमा अन्याय गरेकाले आफूले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेको बताउनुभयो । निर्वाचन क्षेत्र नं. २ मा नेपाल मजदुर किसान पार्टीबाट रामेश्वरी कोजू, मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीबाट शान्तवीर लामा, श्रम संस्कृति पार्टीबाट इन्द्रबहादुर विक, राप्रपाबाट मुकुन्द्रप्रसाद गजुरेल, मितेरी पार्टी नेपालबाट राजन आछामी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट निर्मलकुमार स्याङ्तान, नेकपा माओवादीका वर्तबहादुर राईलगायत १६ जना उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।