• २८ माघ २०८२, बुधबार

बेँसीशहर नगरपालिकाका शिक्षकलाई मासिक तलब

blog

लमजुङ सदरमुकामको बेँसीसहर नगरपालिका । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल
लमजुङ, माघ २८ गते ।
लमजुङ सदरमुकाम रहेको बेँसीशहर नगरपालिकाअन्तर्गतका विद्यालयमा कार्यरत शिक्षकहरुले अब तलबका लागि तीन महिना पर्खन नपर्ने भएको छ । नगरपालिकाले माघ महिनादेखि शिक्षकलाई मासिक रुपमा तलब दिन थालेपछि शिक्षकहरु खुसी भएका छन् ।

बेँसीशहर नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले पालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई यहि माघ महिनादेखि मासिक तलब दिन सुरु गरेको हो । विद्यालयमा अध्यापन गराइरहेका शिक्षकलाई आर्थिक सङ्कट नहोस् भन्नका लागि मासिक रुपमा नै तलबभत्ता दिने व्यवस्था गरिएको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख सिर्जना चिलुवाल पाण्डले बताउनुभयो । यसअघि त्रैमासिक रुपमा तलब भत्ता खुवाउँदै आएकोमा माघ महिनादेखि मासिक रुपमा तलबभत्ता प्रदान गरिएको शाखा प्रमुख पाण्डेले बताउनुभयो ।

आर्थिक असुरक्षाले शिक्षकको मनोबल घटाउने मात्र होइन, त्यसले शिक्षण–अध्ययन प्रक्रियामा पनि प्रत्यक्ष असर पार्ने भन्दै शिक्षक निश्चिन्त नभएसम्म गुणस्तरीय शिक्षा सम्भव नहुने बेसीशहर नगरपालिकाका कार्यकारी प्रमुख सुमन अधिकारीले बताउनुभयो । समयमै तलब पाउँदा ऋणमा निर्भरता घट्ने र शिक्षक पेशाप्रति आकर्षण बढ्ने विश्वाससाथ यस्तोे कार्य सुरु गरिएको अधिकारीले बताउनुभयो ।

शिक्षकहरूको भनाई अनुसार घरभाडा, खानपिन, छोराछोरीको शिक्षा, स्वास्थ्य उपचार जस्ता अनिवार्य खर्च मासिक रूपमा नै हुने भए पनि तलब तीन महिनामा मात्र पाउँदा जीवनयापन कठिन बन्दै आएको थियो । बेसीशहर नगरपालिकाकामा शिक्षक तथा कर्मचारी गरी चार सय १६ जना कार्यरत रहेको र करिब दुई करोडको हाराहारीमा तलबभत्ता निकाशा हुने गरेको शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ ।