• २८ माघ २०८२, बुधबार

गुल्मी जिल्लाबाटै अंगीकृत नागरिकता वितरण सुरु

blog

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले अंगीकृत नागरिकता प्रदान गर्दै । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुंगा(गुल्मी), माघ २८ गते ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाबाटै अंगीकृत नागरिकता वितरण सुरु गरेको छ । विगतमा जिल्ला प्रशासनले सिफारिस गरेर गृहमन्त्रालयबाट नागरिकता प्रदान गर्ने गरिएको थियो । यो व्यवस्था समय लाग्ने, झन्झटिलो र खर्चिलो थियो । अंगीकृत नागरिकता सम्बन्धी अधिकारी प्रमुख जिल्ला अधिकारीलाई प्रदान गरेपछि जिल्लाबाट अंगीकृत नागरिकता दिन थालिएको हो । प्रशासनका अनुसार जिल्लाबाट पहिलो अंगीकृत नागरिकता रेसुंगा नगरपालिका १० का सुरज लेप्चालाई प्रदान गरिएको छ ।

लेप्चाको आमा आमा जमुना बस्नेतले रेसुंगा नगरपालिका १० स्थायी ठेगाना भई विदेशी नागरिकसँग विवाह गर्नुभएको थियो । जिलवर्ट लेप्चा र जमुना बस्नेत दम्पतीका छोरा २० वर्षीय सुरज लेप्चा नागरिकताविहीन हुनुहुन्थ्यो । अंगीकृत नागरिकता प्राप्तीले आमाछोरालाई खुसी दिलाएको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जिल्लाबाटनै अंगीकृत नागरिकता पहिलो पटक प्रदान गरिएको बताउँदै यस्ता समस्या भएकाले सहज रुपमा नागरिकता प्राप्त गर्ने बताउनुभयो ।

यसैबिच जिल्ला प्रशासन कार्यालय गुल्मीका साप्ताहिक विवरण अनुसार मुल नागरिकताभन्दा प्रतिलिपि नागरिकता लिने बढी रहेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार माघ १८ देखि २३ सम्म जिल्ला प्रशासन कार्यालयबाट १०९ जनाले नयाँ नागरिकता र १३४ प्रतिलिपि वितरण गरिएको छ ।