प्रतीक इच्छुक शर्मा
सल्यान, माघ २८ गते । सल्यानमा डबल क्याब बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नम्बर ४ का ३४ वर्षीय चालक विजय विश्वकर्मा रहेको घटनास्थलमा रहेका कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार रुकुम पूर्वको सिस्ने गाउँपालिकाबाट दाङतर्फ जाँदै गरेको ग १ ज ५६६१ नम्बरको बोलेरो जिप कपुरकोट गाउँपालिका–३ चोरखोलामा दुर्घटना हुँदा चालक घटनास्थलमै मृत्यु भएको हो । बुधबार बिहान करिब पौने ५ बजे बोलेरो दुर्घटनामा परेको हो ।
घाइते हुनुहुनेमा सिस्ने–२ की २२ वर्षीया सुस्मी रोका, उहाँकी २ वर्षीया छोरी सफलता केसी र सिस्ने–४ की ३८ वर्षीया ललिता केसी रहनुभएको छ । उहाँको प्राथमिक उपचार कपुरकोटस्थित आधारभुत स्वास्थ्य संस्थामा गरिएको थियो । थप उपचारका लागि प्रादेशिक अस्पताल तुलसिपुर पठाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डा. हेमबहादुर केसीका अनुसार, जिप अनियन्त्रित भई दुर्घटना भएको हो । जिपमा चार जना सवार थिए ।
दुर्घटनाले यस क्षेत्रको सडक सुरक्षामा सुधारको आवश्यकता देखाएको छ । सवारी साधनको गति नियन्त्रण र सडक मर्मत व्यवस्थापनमा ध्यान नदिँदा यस प्रकारका दुर्घटना हुने जोखिम बढ्ने प्रहरीले जनाएको छ ।