नवीनराज कुइँकेल
लमजुङ, माघ २८ गते । पुरुषभन्दा महिला मतदाता सङ्ख्या धेरै भएको लमजुङमा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ एकजना मात्र महिला उम्मेदवार रहनुभएको छ । प्रत्यक्षतर्फका ११ पुरुष उम्मेदवारसँग एक्लो महिला उम्मेदवार निर्वाचनमा होमिनुभएको हो ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट भक्तपुरको कमल विनायक नगरपालिका–१० निवासी गुजेश्वरी प्रजापति मगजुले लमजुङमा प्रत्यक्षतर्फ उम्मेदवारी दिनुभएको हो । माघ ६ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय बेंसीसहरमा आफैं उपस्थित भएर उम्मेदवारी दिएपनि उहाँ यहाँका मतदाताबाट भने बेखबर रहनुभएको छ । उम्मेदवारी दर्तापछि उम्मेदवार र राजनीतिक दलहरु लमजुङको गाउँठाउँ घुम्दै मतदाताको दैलोमा पुगेपनि मगजु भने गुमनाम हुनुहुन्छ ।
लमजुङमा उम्मेदवारी दिएर भक्तपुरमै रहनुभएकी मगजुले फोन सम्पर्कमा पार्टीले खटाएमा फागुन पहिलो साता लमजुङ आउने बताउनुभयो । नेमकिपाको लमजुङमा पार्टी कार्यालय र संगठन दुवै छै्रन । भूगोल र मतदातासँग अपरिचित भएपनि महिलाबाट प्रत्यक्षमा उम्मेदवारी दिएकोमा मतदाताहरुले चासो दिएका छन् । नेमकिपाबाट २०७९ को निर्वाचनमा राजेन्द्रप्रसाद प्रजापतिले उम्मेदवारी दिँदा २० भोट मात्र पाउनुभएको थियो ।
विगतका निर्वाचनमा पनि लमजुङबाट प्रत्यक्षतर्फ महिला उम्मेदवारले निर्वाचन लडेको सूची लामो छैन । २०५६ सालको संसदीय निर्वाचनमा पार्वती थापाले स्वतन्त्र रुपमा चुनाव लड्नुभएको थियो । दोस्रो जनआन्दोलनपछि २०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालिन नेकपा माओवादीबाट मधु अधिकारी गुरुङले लमजुङ क्षेत्र नं. २ बाट प्रत्यक्षमा निर्वाचन लड्नुभई नौ हजारभन्दा बढी मत पाउनुभएको थियो । २०७९ को निर्वाचनमा लमजुङ (क) बाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अप्सरा शाह, नेपाली कांग्रेस (विपी) बाट खुसीमाया गुरुङ र जनता समाजवादी पार्टीबाट सरस्वती गुरुङ प्रत्यक्षतर्फ निर्वाचन लड्नुभएको थियो ।
यसपटक समानुपातिक तर्फ भने लमजुङबाट चार जना महिला उम्मेदवारको नाम सूचिकृत रहेको छ । नेकपा (एमाले) बाट टुकाभद्रा हमाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शोभा राना मगर, नेपाल मजदुर किसान पार्टीबाट अनुकुमारी गुरुङ र नेपाली जनश्रमदान संस्कृति पार्टीबाट सुनिता न्यौपाने रहनुभएकोछ । पुरुषतर्फ लमजुङबाट नेकपा (एमाले) का प्रेम घले मात्र उम्मेदवारको बन्दसूचिमा रहनुभएको छ ।
लमजुङमा एक लाख ३७ हजार १२४ जना मतदाता रहेका छन् । जसमा महिला मतदाता ६९ हजार ५२४ र पुरुष मतदाता ६७ हजार ६०० जना रहेका छन् । पुरुषभन्दा महिला मतदाताको सङ्ख्या एक हजार ९२४ ले बढी छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यसपटक मतदाताको सङ्ख्या तीन हजार ४०७ जनाले बढेको छ । गत २०७९ को निर्वाचनमा एक लाख ३३ हजार ७१७ जना मतदाता रहेका थिए ।