• २८ माघ २०८२, बुधबार

अलपत्र मोटरेबल पुल निर्माण सुरु

blog

खलङ्गा समाचारदाता 

खलङ्गा (दार्चुला), माघ २८ गते । महाकाली लोकमार्ग अन्तर्गत पर्ने खलङ्गा–गोकुलेश्वर सडकखण्डको धौलीगाडखोलामा विगत १२ वर्षदेखि निर्माण अलपत्र अवस्थामा रहेको मोटरेबल पुलको निर्माण सुरु भएको छ । 

सङ्घीय सरकारले पुलको बाँकी काम सम्पन्न गर्न बजेट विनियोजन गरेपछि पुल निर्माणको काम सुरु भएको हो । पुल निर्माणका लागि सरकारले चालु आव २०८२/८३ मा दुई करोड रुपियाँ विनियोजन गरेको नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गतको सडक डिभिजन, कार्यालय बैतडीका इन्जिनियर एवं सूचना अधिकारी कपिलप्रसाद पन्तले जानकारी दिनुभयो । 

पुलको बायाँतर्फको पिल्लरको निर्माण करिब ७० प्रतिशत भएकोमा बाँकी संरचनाको निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो । आव २०७०/७१ मा धनगढीको आशिष कन्स्ट्रक्सन निर्माण कम्पनीसँग पुल निर्माण गर्न सम्झौता भएर काम सुरु गरेको कम्पनीलाई जग्गाधनीले रोकेपछि पुल निर्माणको काम रोकिएर अलपत्र परेको थियो । पुल निर्माण कम्पनीले उतिबेला एकतर्फको पिल्लर मात्रै निर्माण गरेको थियो । जिल्ला सदरमुकाम खलङ्गानजिकै महाकाली नगरपालिका–५, गल्फैस्थित पुल निर्माण हुने स्थानमा रहेको जमिनको मुआब्जा वितरणमा ढिलाइ हुँदा पुल निर्माणको कामपछि धकेलिएको थियो ।

त्यस क्षेत्रका सात/आठ जना जग्गाधनीले सरकारी मूल्य अनुसारको मुआब्जा दिलाउनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि पुल निर्माणको काम पूर्णतया रोकिएको थियो । जग्गाधनीले मुआब्जा प्राप्त गरेपछि पुल निर्माणको बाटो खुलेपछि पुल निर्माणको काम सूरु गरिएको उहाँले बताउनुभयो । पुलको बाँकी संरचना निर्माण गर्न पुरानै निर्माण व्यवसायी (आशिष कन्स्ट्रक्सनसँग) २०८३ असार १५ गते कार्य सम्पन्न गर्न नयाँ सम्झौता गरिएको उहाँले बताउनुभयो । महाकाली कोरिडोर अन्तर्गतको धौलीगाड खोलामा मोटर पुल निर्माण हुन नसक्दा बर्सातमा वारपार गर्न छोटो तथा लामो दुरीका सवारीसाधनलाई निकै समस्या हुने गरेको यहाँका स्थानीयले बताएका छन् । 

यो खोलामा २५ मिटर लम्बाइको स्पान पुल निर्माण गरिने इन्जिनियर पन्तले जानकारी दिनुभयो । तोकिएको समयावधिभित्रै पुल निर्माण गर्ने गरी बाँकी संरचनाको काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि लालबहादुर चन्दले बताउनुभयो ।