• २७ माघ २०८२, मङ्गलबार

समाजसेवी भोजराज भट्टराईको निधनप्रति राष्ट्रपति पौडेलद्वारा समवेदना व्यक्त

blog

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई राष्ट्रपतिको समवेदना सन्देश हस्तान्तरण गर्नुहुँदै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र प्रमुख स्वकीय सचिव अवज्ञा पौडेल ।

काठमाडौँ, माघ २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका पिता समाजसेवी भोजराज भट्टराईको निधनको खबरले आफू दुःखी भएको बताउनुभएको छ। उहाँले स्वर्गीय भट्टराई एक असल र सदाचारी समाजसेवी भएको स्मरण गर्नुभएको छ।

“श्री विन्ध्यवासिनी निमावि खोप्लाङका संस्थापक भोजराज गाउँघरका दीनदुःखीहरूलाई सहयोग गर्दै उनीहरूलाई अभिभावकीय भूमिका निर्वाह गर्ने एक असल र सदाचारी समाजसेवी हुनुहुन्थ्यो”, राष्ट्रपति पौडेलले आज परिवारजनलाई पठाउनुभएको समवेदना सन्देशमा उल्लेख छ। 

उहाँले स्वर्गीय भोजराजको आत्माको चिरशान्तिको कामनासहित उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ।

सो समवेदना सन्देश राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र प्रमुख स्वकीय सचिव अवज्ञा पौडेलले पूर्वप्रधानमन्त्री डा.भट्टराईलाई हस्तान्तरण गर्नुहुन्छ।

सो अवसरमा प्रथम महिला सविता पौडेल पनि समुपस्थित हुनुहुन्छ।