कविराज घिमिरे
हिले, माघ २७ गते । नेपाली कांग्रेसकी सहमहामन्त्री डिला सङ्ग्रौलाले रूपान्तरित नेपाली कांग्रेसमा मात्र देश बनाउने र बदल्ने शक्ति रहेको बताउनुभएको छ ।
चुनाव प्रचारप्रसार समिति, धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सहमहामन्त्री सङ्ग्रौलाले कांग्रेस 'जेनजी' को मर्मअनुसार रूपान्तरण भएको र अब सबैको भरोसाको केन्द्रका रूपमा उभिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाली कांग्रेसको लक्ष्य नै देश बदल्नु हो, बदलिएको कांग्रेसले मात्र मुलुकको मुहार फेर्न सक्छ ।” अन्य दलहरूले नेतृत्व र नीतिमा परिवर्तन गर्न नसकेको अवस्थामा कांग्रेसले भने त्यसमा सफलता हासिल गरेको उहाँको दाबी थियो । कांग्रेस रोजगार, पूर्वाधार, स्वास्थ्य र शिक्षासहितका १० बुँदे दृष्टिकोण लिएर निर्वाचनमा होमिएको उहाँले जानकारी दिनुभयो ।
कांग्रेसले १०६ जना नयाँ अनुहारलाई उम्मेदवार बनाएको र प्रत्येक उम्मेदवारमा देश बदल्ने आँट र अठोट रहेको उहाँको भनाइ छ ।
कार्यक्रममा नेपाली कांग्रेस अनुशासन समितिका संयोजक तथा संविधानसभा सदस्य तारामान गुरुङले विशेष अधिवेशनपछि कांग्रेसले नयाँ युग परिवर्तनको घोषणा गर्दै अघि बढेको बताउनुभयो । उहाँले कांग्रेस देशभरका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने एक्लो पार्टी भएको दाबी गर्दै पार्टीभित्र कतै पनि विद्रोही उम्मेदवार नरहेको प्रष्ट पार्नुभयो ।
पत्रकार सम्मेलनमा प्रतिनिधिसभाका उम्मेदवार दिनेश राईले निर्वाचन आचारसंहिताको पूर्ण पालना नै आफ्नो मुख्य ध्येय रहेको बताउनुभयो । उहाँले निर्वाचनमा तडकभडक कम गर्ने प्रतिबद्धता जनाउँदै सबै राजनीतिक दललाई आचारसंहिता पालना गर्न आग्रह गर्नुभयो । साथै, नियामक निकायलाई प्रभावकारी अनुगमनका लागि उहाँले अनुरोध समेत गर्नुभयो ।