• २७ माघ २०८२, मङ्गलबार

नेपालको डिजिटल रूपान्तरणका लागि विश्व बैंकले ५० मिलियन डलर दिने

blog

काठमाडौँ, माघ २७ गते । नेपालको डिजिटल रूपान्तरणका लागि विश्व बैंकले ५० मिलियन (५ करोड) अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।

 वासिङ्टनमा बसेको विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले ‘नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट’ (नेपाल डिजिटल रूपान्तरण आयोजना) अन्तर्गत उक्त सहयोग नेपाललाई दिने निर्णय गरेको हो । उक्त सहयोग नेपालको डिजिटल सार्वजनिक पूर्वाधार सुदृढ गर्न र सार्वजनिक सेवाहरू डिजिटल माध्यमबाट उपलब्ध गराउन परिचालन गरिनेछ ।

यो परियोजनाले नागरिकलाई प्रदान गरिने सेवाको ढाँचामा मौलिक परिवर्तन ल्याउने लक्ष्य लिएको छ । परियोजनाअन्तर्गत एकीकृत अनलाइन नागरिक सेवा पोर्टल, सुरक्षित तथ्याङ्क आदानप्रदान प्रणाली तथा प्रमाणीकरणयोग्य प्रमाणपत्र र डिजिटल वालेट व्यवस्थापन गर्न सकिने 'डिजिटल लकर' जस्ता डिजिटल प्लेटफर्ममा लगानी गरिनेछ ।

डिजिटल अर्थतन्त्रप्रति नागरिकको विश्वास बढाउन परियोजनाअन्तर्गत विद्युतीय हस्ताक्षर (ई–सिग्नेचर), साइबर सुरक्षा तथा 'डेटा गभर्नेन्स' मा समेत लगानी गरिनेछ ।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले डिजिटल पूर्वाधारमा लगानीले सेवा प्रवाहमा पारदर्शिता, समावेशिता र प्रभावकारिता बढ्ने उल्लेख गर्नुभएको छ । उहाँका अनुसार मुख्य डिजिटल प्लेटफर्ममा लगानी र सेवाहरू डिजिटलाइज गरेपछि नागरिक र व्यवसायलाई अझ सहज सेवा उपलब्ध हुनेछ । यसले सार्वजनिक क्षेत्रको कार्यक्षमता र सुशासन प्रवर्द्धनमा मद्दत पुग्नेछ ।

यो परियोजना विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) बीचको संयुक्त सहवित्तीय व्यवस्थाअन्तर्गत कार्यान्वयन हुनेछ । 'फुल म्युचुअल रिलायन्स फ्रेमवर्क' अन्तर्गत विश्व बैंक प्रमुख ऋणदाता रहनेछ भने एडीबी ट्रेल ऋणदाताका रूपमा रहनेछ । एडीबीले यस परियोजनामा ४० मिलियन अमेरिकी डलर योगदान गर्नेछ । एडीबी व्यवस्थापनले मार्च २०२६ मा परियोजनालाई आफ्नो बोर्डमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।