राधा लुइटेल
फिदिम, माघ २७ गते । पाँचथर जिल्लाका १ हजार ३ सय किशोरीलाइ पाठेघरको मुखमा लाग्ने क्यान्सर विरुद्वको (एचपिभी)खोप लगाउन सुरु गरिएको छ । २९ गतेसम्म अभियन सञ्चालन गर्ने बताइएको छ ।
जिल्लाको एक नगर र सात गाउँपालिका गरी ८ वटा स्थानीय तहका आधारभुत र माध्यामिक विद्यालयको कक्षा ६ मा अध्ययनरतसँगै विद्यालय बाहिर रहेका १० वर्ष उमेरका र गत वर्ष खोप लगाउन छुटेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई अभियान विद्यालयमै पुगेर खोप लगाउन थालिएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख महेश सुनारले जानकारी दिनुभयो ।
यो खोप लगाएपछि १५ वर्षसम्म पाठेघरको मुखमा लाग्ने क्यान्सरको जोखिम नहुने स्वास्थ्यकर्मीहरू बताएका छन् ।
नेपाल सरकारले देशव्यापी रूपमा पाठेघरको मुखमा लाग्ने क्यान्सर रोग न्युनीकरणका लागि अभियान चलाउने घोषणा गरेसँगै पाँचथर जिल्लाले किशोरीहरूलाई यो खोप लगाउन सुरु गरेको हो । खोप विद्यालय र तोकिएका केन्द्रमा गएर स्वाथ्यकर्मीहरूले लगाइरहेका छन् ।
अभियानका लागि महिला स्वास्थ्यकर्मी र स्वयंसेवक खटाइएको छ ।