वासिङ्टन, माघ २७ गते । पूर्वी प्रशान्त महासागरमा लागु-औषध तस्करीको आशङ्कामा एक डुङ्गालाई लक्षित गरी गरिएको अमेरिकी आक्रमणमा दुई जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको अमेरिकी सेनाले जनाएको छ ।
सेनाले यो आक्रमण समुद्री लागु-औषध तस्करीको विरूद्ध चलिरहेको अभियानको एक स्वरूप भएको उल्लेख गरेको छ । अमेरिकी रक्षा विभागको सामाजिक सञ्जालको पेजमा पोस्ट गरिएको एक विज्ञप्तिमा युएस साउदर्न कमान्ड (साउथकम) ले संयुक्त टास्क फोर्स साउदर्न स्पियरले लागु-औषध तस्करी मार्गमा अभियान सञ्चालन गरिरहेको र अवैध लागु औषध ओसार पसारमा संलग्न डुङ्गा माथि आक्रमण गरेको बताइएको छ ।
सन् २०२५ सेप्टेम्बरमा सुरु गरिएको “साउदर्न स्पियर” अभियान अन्तर्गत क्यारिबियन सागर र पूर्वी प्रशान्त क्षेत्रमा संदिग्ध लागु औषध तस्करी गर्ने डुङ्गा विरुद्ध अमेरिकी सैन्य कारबाहीको श्रृङ्खलामा आक्रमण भएको जनाइएको छ । अभियान सुरु भएदेखि भएको आक्रमणमा कम्तिमा १३० जना मारिएको रिपोर्ट गरिएको छ, भने कानुनी विशेषज्ञ र अधिकार समूह बिच अन्तर्राष्ट्रिय जलमार्गमा त्यस्ता अपरेसनको वैधानिकता र निरीक्षणको बारेमा बहस सुरु भएको छ । रासस/क्यूएनए