• २७ माघ २०८२, मङ्गलबार

काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई सहयोग गर्ने

blog

काठमाडौँ, माघ २७ गते । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य उपकरण खरिद गर्न कीर्तिपुर अस्पताललाई सहयोग गर्ने भएको छ ।

कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने उपकरण खरिद गर्न कामपाको वार्षिक कार्यक्रम अन्तर्गत कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनको रोहवरमा सम्झौता भएको हो ।

उक्त सम्झौतामा कामपाका तर्फबाट स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका तर्फबाट अध्यक्ष डा. भरतकुमार प्रधान श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

कामपाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत मेडिकल उपकरण खरिद अनुदानका लागि सम्झौता गरेको हो । यसका लागि एक करोड विनियोजन गरिएको छ ।

सम्झौताबमोजिम सार्वजनिक खरिद प्रक्रियाबाट अस्पतालले स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने एक थान एनेस्थेसिया मेसिन, २५० केभीएको एक थान जेनेरेटर र ५०० एमएको एक थान डिजिटल एक्स–रे मेसिन खरिद गर्ने छ । 

काठमाडौँ महानगरवासी तथा कीर्तिपुर अस्पतालमा उपचारका लागि आउने बिरामीलाई गुणस्तरीय सहज र सरल उपचार सेवा प्रदान गर्न कामपाले सहयोग गरेको हो । 

कार्यवाहक प्रमुख डङ्गोलले, जलनसहितको उपचार प्रदान गरिने अस्पतालको सेवालाई गुणस्तरीय र सहज बनाउने उद्देश्यले अनुदान उपलब्ध गराएको बताउनुभयो ।

अस्पताल नाफा कमाएर बाँड्ने नभई सेवा भावबाट सञ्चालन भएको उल्लेख अस्पतालका अध्यक्ष श्रेष्ठले भन्नुभयो, “जलनका बिरामीको उपचार कठिन हुन्छ । यसलाई सहज बनाउने कामपाबाट निरन्तर रूपमा हामीले सहयोगको अपेक्षा गरेका छौँ ।”