• २७ माघ २०८२, मङ्गलबार

बागलुङमा चार थान भरुवा बन्दुक बरामद

blog

प्रहरीले बरामद गरेको अवैध हतियार ।

रामकृष्ण बोहरा

बागलुङ, माघ २७ गते । जिल्ला प्रहरी कार्यालय बागलुङले लुकाइछिपाई राखेका चार थान भरुवा बन्दुक बरामद गरेको छ । प्रहरीले ताराखोला गाउँपालिका-२, हल्पुखोलास्थित गुफामा लुकाइछिपाई राखिएको अवस्थामा चार थान भरुवा बन्दुक बरामद गरेको हो ।

अवैध हतियार नियन्त्रण गर्ने अप्रेसन अन्तर्गत मङ्गलबार इलाका प्रहरी कार्यालय हरिचौर गलकोट मातहत रहेको प्रहरी चौकी भात खाने डाँडाका प्रहरीका प्रहरी सहायक निरीक्षक चेतराम चौधरीको कमान्डमा खटिएको टोलीले भरुवा बन्दुक बरामद गरेको हो । 

आसन्त प्रतिनिधि सभाको निर्वाचनमा अवैध हातहतियारको दुरुपायोग भई निर्वाचन तथा सार्वजनिक शान्ति सुरक्षामा खतरा उत्पन्न हुने सक्ने तथ्यलाई मुल्याङ्कन गर्दै इजाजत पत्र नलिई लुकाइछिपाई राखिएका हातहातियार बरामद तथा सङ्कलन गर्नको लागि प्रहरीले अप्रेसन टोली खटाई स्थानीयको सहयोगमा जङ्गल, रुखको टोड्का, खोल्सा, मानिस नबस्ने घरगोठमा लुकाई राखेका एक सय १५ थान भरुवा बन्दुक यसअघि नै बरामद गरेको छ । 

इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट ६६ नाल भरुवा बन्दुक, इलाका प्रहरी कार्यालय गलकोटबाट ४५ थान र इलाका प्रहरी कार्यालय बरेङडाँडाबाट ४ वटा हतियार बरामद भएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । हतियार बरामद गर्दा प्रहरीले एक जना पनि अभियुक्त भने पक्राउ गरेको छैन । सर्च अपरेसन अभियान थालेपछि सबै हतियार जङ्गल छेउछाउ, खोंचहरूमा भेटाएकाले थप खोजी भईरहेको भारतीले बताउनुभयो । 

बरामद भएका अधिकांश घरेलु रूपमा बनाइएका हतियार भए पनि सबैजसो नियमित प्रयोगमा आएको हतियार भएको प्रहरी उपरीक्षक भारतीले बताउनुभयो । बन्दुक बरामद गर्दा त्यसको म्यागेजिन लगायतका खरखजाना भने बरामद भएको छैन ।

बरामद  हतियार सुरक्षित रूपमा प्रहरी कार्यालयमा राखिएको छ भने हरेक हतियार प्रयोगकर्ता पक्राउ पर्न सक्ने भएकोले अनुसन्धानको पाटो पनि अगाडि बढेको भारती जानकारी दिनुभयो ।