• २७ माघ २०८२, मङ्गलबार

लमजुङमा निर्वाचनका लागि दुई हजार पाँच सय सुरक्षाकर्मी परिचालन हुने

blog

निर्वाचन सुरक्षाका लागि छनाेट गरिएका निर्वाचन प्रहरी । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, माघ २७ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङमा निर्वाचन प्रहरीसहित दुई हजार ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था व्यवस्थित गरिने सुरक्षा समिति लमजुङले जनाएको छ । 

निर्वाचनका लागि जिल्लाका सबै निर्वाचन क्षेत्रको सुरक्षा व्यवस्थालाई विशेष ध्यानमा राखेर सुरक्षा तयारी गरिएको सुरक्षा समितिले जनाएको छ । विभिन्न समूहले गर्ने निर्वाचन विरोधी गतिविधिहरूप्रति पूर्व सतर्कता अपनाउन निर्वाचन हुने क्षेत्र र समग्र जिल्लाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको सुरक्षा समिति लमजुङका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी उमेश ढुङ्गानाले जानकारी दिनुभयो ।

सुरक्षा समितिका अनुसार निर्वाचन सुरक्षाका लागि जिल्लामा निर्वाचन प्रहरीसहित दुई हजार  ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् । निर्वाचन सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिने प्रजिअ ढुङ्गानाले बताउनुभयो । निर्वाचनका लागि जिल्लामा रहेका सुरक्षाकर्मीबाहेक बाहिरी जिल्लाबाट पनि ल्याइने सुरक्षा समितिले जनाएको छ।

निर्वाचन सुरक्षाका लागि ३०० को हाराहारीमा सशस्त्र प्रहरी परिचालन गरिने भएको छ भने ६०० भन्दा बढी नेपाली सेना परिचालन गरिने सुरक्षा समितिले जनाएको छ । त्यसैगरी ६०० कै हाराहारीमा नेपाल प्रहरी परिचालन हुने छन् भन सोबाहेक निर्वाचनकै लागि जिल्लामा एकहजार ३०६ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । प्रतिनिधी सभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले बाहिरी घेरमा सुरक्षा दिने भएको छ भने त्यसभित्र क्रमशः सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरीको सुरक्षा निगरानी हुने छ । 

निर्वाचनलाई शान्तिपुर्ण, निष्पक्ष र मतदाताले स्वतन्त्रपुर्वक मतदान गर्ने वातावरणको सिर्जना गर्न सुरक्षा समिति लागि परेको प्रजिअ ढुङ्गानाले बताउनुभयो । जिल्लाका १३० मतदान स्थलमध्ये ३० वटा मतदान स्थललाई अति संवेदनशील क्षेत्र स्तरीकरण गरेको छ । सुरक्षा समितिका अनुसार जिल्लामा ७७ वटा मतदान स्थल संवेदनशील र बाँकी २३ मतदान स्थललाई सामान्य मानिएको छ । अति संवेदनशील र संवेदनशील क्षेत्रका लागि विशेष सुरक्षा व्यवस्था मिलाइने छ । 

निर्वाचनलाई भयरहित, निष्पक्ष बनाउनका लागि सुरक्षाको दृष्टिकोणबाट कुनै कमी हुन नदिने सुरक्षा समितिको तयारी छ । चार वटा नगरपालिका र चार वटा गाउँपालिका रहेको लमजुङमा अति संवेदनशील केन्द्रमा भौगोलिक विकटता र यसअघिको निर्वाचन सुरक्षा अवस्थाको आधारलाई मानिएको बुझिएको छ ।

लमजुङमा १३० मतदान स्थलमा एक सय ९२ मतदान केन्द्र रहेका छन् । सोबाहेक सदरमुकाम बेँसीसहरमा अस्थायी मतदान केन्द्र कायम हुने छ । सुरक्षा समितिले सबै मतदान स्थलको अनुगमनलाई पनि तिव्रता दिएको छ ।