• २७ माघ २०८२, मङ्गलबार

सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा गर्ने चार पक्राउ

blog

कन्हैयालाल केशरी 

पर्सा, माघ २७ गते । जिल्ला प्रहरी कार्यालय पर्साले सशस्त्र प्रहरी बलमाथि हातपात गरी ढुङ्गा मुढा गर्ने चार जनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल वीरगन्ज भन्सार कार्यालयले सोमबार बिहान वीरगन्जको प्रमुख व्यवसायिक स्थलको रूपमा परिचित वीरगन्ज महानगरपालिका-१०, आर्दशनगरमा रहेको मदन गुप्ताको घरमा रहेको सबिता ट्रेडर्सको गोदाममा छापा मार्दा व्यवसायीहरूले हातपात तथा ढुङ्गा मुढा गरेपछि सशस्त्र प्रहरीका तीन जना धाइते भएको र दुई वटा सवारी साधनको अगाडिको सिसा फुटेको जानकारी दिनुभयो ।

सूचना अधिकारी बस्नेतले घटनामा संलग्न रहेका अन्य व्यक्तिहरूको खोजी भइरहेकोले हाल नाम सार्वजनिक गर्न उपयुक्त नहुने बताउनुभयो । सीमा सुरक्षा बल नेपाल हेक्वा गण १३ पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले सोमबार बिहान विषेश सूचनाको आधारमा सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल वीरगन्ज भन्सार कार्यालयका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीका नेतृत्वमा रहेको सशस्त्र प्रहरी बलको टोली माथि केही व्यवसायी र सो क्षेत्रमा रहेका केही व्यक्तिहरूले हातपात तथा ढुङ्गा मुढा गरेपछि सप्रसनि महम्मद मुस्ताक अली सप्रज जितेन्द्रप्रसाद सहनी र सप्रसह जितेन्द्र पासवान धाइते भएको र एफएए ०१२५ नम्बर प्लेटको मिनी ट्रक र ना. १ ज. १५३१ नम्बर प्लेटको स्कारपियोको अगाडिको सिसा फुटेको थियो।

उहाँले सशस्त्र प्रहरी बलले लगभग १२ लाख ७२ हजार बराबरको साडी र अन्य कपडा बरामद गरी आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको जानकारी दिनुभयो।