• २७ माघ २०८२, मङ्गलबार

किथुल परम्परालाई युनेस्को मान्यता

blog

युनेस्को बुस्ट अम्बेगोडा (श्रीलङ्का), माघ २७ गते । श्रीलङ्काका मेकानिक सारथ आनन्दले कुवेतमा गरेको जागिर छोडेर परम्परागत किथुल पामबाट मिठाई बनाउने पेसा अँगाल्दा यसले विश्वव्यापी प्रशंसा पाउने छ भन्ने कल्पना समेत गर्नु भएको थिएन ।

आनन्दले सन् २००८ मा स्वदेश फर्किएर परिवारको पुस्तौँदेखिको पेसा अपनाउनुभयो । किथुल पामबाट रस सङ्कलन गर्ने उहाँ अहिले युनेस्कोद्वारा मानवताको अमूर्त सांस्कृतिक सम्पदाको रूपमा सूचीकृत शिल्पका अनुभवी व्यवसायी मध्ये एक हुनुहुन्छ । यस मान्यताले श्रम अभाव, अनियन्त्रित मिलावट र घट्दो रस आपूर्तिका कारण कमजोर अवस्थामा रहेको कुटीर उद्योगलाई अन्तर्राष्ट्रिय ध्यानको केन्द्रमा ल्याएको छ ।

बिहान सबेरै र साँझपख ६३ वर्षीय आनन्द अग्ला क्यारियोटा युरेन्स पामका रुख चढेर मीठो दुधे रस सङ्कलन गर्नु हुन्छ । यही रस उमालेर क्यारामेल रङको सुगन्धित ट्रेकल बनाइन्छ, जसले किथुल मिठाईलाई विशिष्ट स्वाद दिन्छ । लामो समय उमाल्दा यही रस खनिज युक्त पाम चिनी अर्थात् गुडमा परिणत हुन्छ, जसको ग्लाइसेमिक इन्डेक्स साधारण उखु चिनीभन्दा कम हुन्छ ।

तर उहाँका पाँच वटा रुखबाट दैनिक करिब २०० लिटर रस उत्पादन भए पनि घरेलु ब्रान्डको माग पूरा गर्न पर्याप्त हुँदैन । त्यसैले उहाँले ५५ जना ट्यापरको सञ्जाल विकास गर्नु भएको छ, जसले अस्ट्रेलिया, बेलायत, न्युजिल्यान्ड र मध्यपूर्वसम्म निर्यात सम्भव बनाएको छ । “कुवेतमा १० वर्ष काम गरेपछि म घर फर्किएँ र पारिवारिक पेसा सम्हालेँ”, उहाँले कोलम्बोबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको अम्बेगोडास्थित आफ्नै घरमा भन्नुभयो ।

तर नयाँ पुस्ताले यो जोखिमपूर्ण कला अपनाउन नचाहने चिन्ता उहाँमा छ । “मेरो छोरो इन्जिनियरिङ पढ्दैछ । ऊ रुख चढ्न चाहँदैन होला”, उहाँले भन्नुभयो । उहाँकी श्रीमती पद्मा नन्दनी थिब्बोटुवा उमाल्ने र हल्लाउने काम सम्हाल्नुहुन्छ । “सबैभन्दा ठुलो समस्या मिलावट हो । केहीले चिनी मिसाउ  छन्”, उहाँले भन्नुभयो । रस सङ्कलनपछि तुरुन्तै उमालिएन भने त्यो किथुल टोडी नामक मादक पेयमा परिणत हुन्छ । धेरै परिवारमा पुरुषले रस सङ्कलन गर्ने र महिलाले प्रशोधन गर्ने चलन छ ।

युनेस्कोको मान्यताले अझै पनि समाजमा निम्न पेसा ठानिने यस ग्रामीण उद्योगको प्रतिष्ठा बढाएको छ । युनेस्कोले किथुल ट्यापिङलाई सामुदायिक सद्भाव, सांस्कृतिक पहिचान र प्रकृतिसँगको गहिरो सम्बन्ध झल्काउने ‘जीवित विरासत’ भनेको छ । किथुल पाम जङ्गली रूपमा उम्रन्छ र मलको आवश्यकता पर्दैन । व्यावसायिक खेतीका प्रयास असफल भएका छन् । राज्य सञ्चालित किथुल विकास बोर्डले एक हजार ३०० ट्यापरलाई तालिम दिइरहेको जनाएको छ ।

बोर्डकी अध्यक्ष एम.यु.गयानीका अनुसार किथुल दक्षिण र दक्षिणपूर्व एसियामा पाइए पनि पूर्ण ट्यापिङ विधि श्रीलङ्कामा मात्र अभ्यास हुने भएकाले युनेस्कोले मान्यता दिएको हो । उहाँका अनुसार किथुल उत्पादनबाट वार्षिक करिब १० लाख डलर निर्यात आय हुन्छ । आपूर्ति अभावका कारण सम्भावना अझै धेरै बाँकी छ । टापुमा करिब पाँच लाख किथुल पाममध्ये आधाभन्दा कम मात्र ट्याप भइरहेका छन्, जसले उद्योगको सङ्घर्ष र सम्भावनालाई एकै साथ देखाउँछ । रासस/एएफपी