• २७ माघ २०८२, मङ्गलबार

चुनावमा हुने भोजभतेरको अनुगमन

blog

निर्वाचन आचारसंहितासम्बन्धी छलफल र अन्तर्क्रियाका सहभागी ।

बागलुङ समाचारदाता 

बागलुङ, माघ २७ गते । यही फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका तयारीमा जुटेका बागलुङका राजनीतिक दल, उम्मेदवार र सरोकारवालाले निर्वाचनका बेला हुने भोजभतेर खुवाउने काम र राष्ट्रिय झन्डाको दुरुपयोग रोक्नुपर्ने बताएका छन् ।

बागलुङ क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालयमा भएको निर्वाचन आचारसंहितासम्बन्धी छलफल र अन्तर्क्रियामा सरोकारवालाले मतदानको दिन मतदातालाई भोजमा सहभागी गराउने पुरानै चलन रहेकाले यसलाई निरुत्साहित गर्न निगरानी गर्नुपर्ने बताएका हुन् । अन्तर्क्रियाका सहभागीले राष्ट्रिय झन्डाको दुरुपयोग पछिल्लो समय व्यापक रूपमा बढेको भन्दै त्यसलाई रोक्न निर्वाचन अधिकृतको कार्यालयलाई आग्रह गरेका थिए । मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले तथ्य प्रमाणसहित उजुरी आए कारबाही गर्न सक्ने प्रावधानबारे जानकारी गराउँदै पार्टीको मुखपत्र जस्तै निर्वाचनको आचारसंहिता पनि पार्टी प्रतिनिधि र उम्मेदवारले गहिरो अध्ययन गर्न आवश्यक भएको बताउनुभयो । 

निर्वाचन आचारसंहिता अनुगमनको काम औपचारिक रूपमा सुरु भएको उहाँले सबै राजनीतिक दलका उम्मेदवारलाई जानकारी दिनुभयो । निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत भीमप्रसाद सुवेदीले आचारसंहिता उल्लङ्घनका मौखिक उजुरी आएको भन्दै पहिलो पटक त्यस्ता उजुरीउपर सम्झाइबुझाइ गरिएको बताउनुभयो । सुवेदीले आचारसंहिता उल्लङ्घन कसले गरेको भनेर नखुलाए पनि आफू अनुगमनमा जाँदा देखेका विषयमा पार्टी र उम्मेदवारलाई जानकारी गराएको बताउनुभयो ।

माघ ४ गतेपछि मात्रै दलहरूले वडा अधिवेशन, भेला र कोण सभा गर्न सक्ने निर्वाचन आयोगको आचारसंहितामा भए पनि अहिले भइरहेका त्यस्ता गतिविधि मौखिक वा लिखित उजुरी नपरेसम्म निर्वाचन कार्यालयले भने थाहा नपाउने कार्यालयले जनाएको छ । निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा प्रमुख कोष नियन्त्रक किशोरकुमार श्रेष्ठले बागलुङका उम्मेदवारले आगामी निर्वाचनमा २९ लाख रुपियाँसम्म बैङ्कबाट मात्रै खर्च गर्न सक्ने जानकारी दिनुभयो । आयोगले भनेको माघ २१ सम्म क्षेत्र नं. १ मा पाँच र क्षेत्र नं. २ मा दुई जनाले मात्रै बैङ्क खाता सञ्चालनका लागि सिफारिस लगेकाले छुट उम्मेदवारलाई तत्कालै आयोगबाट सिफारिस लैजान पनि श्रेष्ठको आग्रह छ । 

छलफलमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले निर्वाचनलाई मेला महोत्सव जस्तो सिङ्गारपटार र भड्किलो नबनाउन सबैमा आग्रह गर्नुभयो । बागलुङ क्षेत्र नं. २ का सबै राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकाय, सरकारी तथा पालिकाका प्रतिनिधिलगायतको सहभागिता भएको छलफलमा जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले आचारसंहिताबारे जानकारी गराउनुभएको थियो । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि बागलुङमा विभिन्न राजनीतिक दलका २३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।