• २७ माघ २०८२, मङ्गलबार

मत हाल्न पाँच घण्टा पैदल

blog

मतदात स्थल जाने बिग्रेको बाटो ।

सुलीकोट समाचारदाता 

सुलीकोट, माघ २७ गते ।   यहाँको चुमनुब्री गाउँपालिका अन्तर्गतको लोक्पा गाउँका मतदाताले मत खसाल्न कम्तीमा पाँच घण्टा बाटो पैदल हिँड्नुपर्ने बाध्यता झेल्दै आएका छन् । गाउँमा बिस घरधुरी मात्रै रहेको लोक्पामा गाउँबाट मतदान केन्द्र निकै टाढा सिप्चेत आधारभूत विद्यालयमा राखिएको छ । यो ठाउँ जान कम्तीमा पाँच घण्टा ओरालो हिँडेर मात्र पुग्न सकिन्छ । स्थानीय सेराप गुरुङले भन्नुभयो, “मतदान केन्द्र गाउँमा राख्न सकिने संरचना त छन् तर हामीले हरेक निर्वाचनमा मतदात केन्द्रको माग राखेका हुन्छौँ, अहिलेसम्म सुनुवाइ भएको छैन ।”

मतदान केन्द्र टाढा भएकाले यो गाउँका युवाले मात्र मतदानमा भाग लिने गरेको कुरा उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार दिनभरि हिँडेर बुढाबुढी, अशक्त मतदाता आउन जान सक्दैनन् । जसले गर्दा मतदान गर्नबाट वञ्चित हुनु परिरहेको छ । कहिलेकाहीँ त बुढापाकालाई बोकेर पनि मतदान गर्न लैजाने गरेको छ तर सबै बुढापाकालाई बोकेर लैजान नसकिने अर्का स्थानीय सेराप गुरुङको भनाइ छ । 

यो जस्तै समस्या उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–५ सेराङ, धार्चे गाउँपालिका–३ लाक्पालगायत उत्तरी गोरखाका अन्य बस्तीमा रहेको छ । सेराङ गाउँका बासिन्दाले पाँच घण्टाभन्दा बढी समय हिँडेर गुम्बा हिमाली आधारभूत विद्यालयको मतदान केन्द्र पुग्नुपर्ने बाध्यता रहेको छ । त्यसै गरी लाक्पाका मतदाताले कम्तीमा चार घण्टा पैदल यात्रा गरेर मत हाल्ने ठाउँसम्म पुग्नुपर्ने अवस्था रहेको सेराङका अर्का स्थानीय फुञ्जो दोर्जे लामाले बताउनुभयो । 

फुञ्जो दोर्जे लामाका अनुसार मतदान गर्न जान आउन एक दिन जस्तो लाग्ने भएकाले सबै मतदाताले मत हाल्ने इच्छा देखाउँदैनन् । त्यसैले सो गाउँबाट कम मत खस्ने गरेको छ । गोरखा जिल्लाका विकट गाउँबस्तीमै मतदान केन्द्र स्थापना भए लोकतान्त्रिक अभ्यासमा सहमागी हुन पाउने इच्छा सबैको रहेको उहाँले बताउनुभयो ।