• २७ माघ २०८२, मङ्गलबार

कञ्चनपुरमा बढ्यो चुनावी सरगर्मी

blog

एमालेले स्थापना गरेको सम्पर्क कार्यालय । तस्बिर : भवानीदत्त भट्ट

बेलौरी समाचारदाता  

बेलौरी (कञ्चनपुर), माघ २७ गते ।  आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा चुनावी सरगर्मी बढेको छ । तीन वटा निर्वाचन क्षेत्र रहेका कञ्चनपुरमा मुख्य पार्टीहरूले सम्पर्क कार्यालय स्थापना गर्दै मतदाता भेटघाट गर्न गाउँघर पुग्न लाग्दा चुनावी माहोल बढेको हो ।

निर्वाचनमा सहभागी पार्टीले नगर, वडामा सम्पर्क कार्यालय स्थापना गर्न थालेका छन् । नेपाली कांग्रेस कञ्चनपुरका सचिव भीम भट्टले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा वडा सम्पर्क कार्यालय स्थापना गरिएको बताउनुभयो । ९२ वटै वडामा सम्पर्क कार्यालय स्थापनाको कार्य सम्पन्न भएको बताउँदै उहाँले टोल समितिलाई सव्रिmय पार्नेलगायत कार्य अगाडि बढाइएको बताउनुभयो । टोल समितिमार्फत घरदैलो अभियान सञ्चालन गरिँदै आएको नेपाली कांग्रेस कञ्चनपुरले जनाएको छ । 

नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माया नेगीले कञ्चनपुरका सबै जसो वडामा निर्वाचन परिचालन समिति गठनको काम भइरहेको बताउनुभयो । केन्द्रीय सदस्य नेगीले भन्नुभयो, “निर्वाचन नजिकिएसँगै वडाका सम्पर्क कार्यालय उद्घाटनमा व्यस्त छौँ । विकासनिर्माणका योजना तोकिएका क्षेत्रमा भेटघाट तीव्र रूपमा अगाडि बढेको छ ।” निर्वाचन नजिकिएसँगै चुनावी वाचा अनुरूप विकासनिर्माणका योजना अगाडि बढाइने प्रतिबद्धता गरेका क्षेत्रमा तीव्र रूपमा जनतासँग भेटघाटको काम भइरहेको पार्टीका केन्द्रीय सदस्य नेगीले बताउनुभयो ।  

त्यसै गरी नेकपा (एमाले) ले पनि कञ्चनपुरका ९२ वटै वडामा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएको जनाएको छ । नजिकिँदै गरेको निर्वाचनका लागि पार्टीका कार्यकर्ता फरक फरक क्षेत्रको जिम्मेवारी समालेर निर्वाचनका काममा खटिएको नेकपा (एमाले) का जिल्ला उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख जनकराज अवस्थीले बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्लाका ६१ वडामा क्षेत्रीय समिति, पालिका र वडाको सम्पर्क कार्यालय स्थापना गरिएको जनाएको छ । सो पार्टीका जिल्ला अध्यक्ष पदम विष्टले क्षेत्र नम्बर १ का सबै वडा र क्षेत्र नम्बर २ का २८ वडामा क्षेत्रीय समिति, पालिका र वडाको सम्पर्क कार्यालय स्थापना गरिएको बताउनुभयो । क्षेत्र नम्बर ३ अन्तर्गतका वडामा पनि प्रचारप्रसार र कार्यसम्पादन समिति स्थापनाको काम भइरहेको उहाँले बताउनुभयो । निर्वाचनको पूर्वतयारीमा रास्वपा पूर्ण रूपमा लागेको उहाँले बताउनुभयो । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन वटै निर्वाचन क्षेत्रमा प्रचारप्रसार समिति गठन गरिएको जनाएको छ । सो पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र चन्दले निर्वाचन नजिकिएसँगै राप्रपा जोडतोडका साथ निर्वाचनमा होमिएको बताउनुभयो ।