वासुदेव शर्मा
जाजरकोट, माघ २७ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारसँग मतदाताले विकास गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका उम्मेदवारसँग मतदाताले विकासनिर्माण र रोजगारीको आग्रह गरेका हुन् ।
विसं २०७८ देखि जाजरकोटका सात वटा स्थानीय तहमा निर्माण व्यवसायीले लिएको काम अलपत्र परेपछि गाउँका स्थानीयले विकास हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नलगाड नगरपालिका–५, कालीमाटीदेखि बारेकोट गाउँपालिका जोडेको सडक अन्तर्गत खाराखोला, साँघुतरा, सेपुखोलाका मोटरे बल पुल, छेडागाड नगरपालिका–१ र ५ जोड्ने खाराखोलामा ठेक्का लिएका ठेकेदारले पुल निर्माण नगरेपछि प्रतिनिधि सभा सदस्यका उम्मेदवारसँग जनताले प्रश्न गरेका छन् । भेरी नगरपालिका–१३ का मोहन खत्रीले जिल्लाका सांसदले पटक पटक विभिन्न मन्त्रालयको अवसर पाए पनि विकासनिर्माण हुन नसकेको आरोप लगाउनुभयो । पुर्खादेखि खानेपानीको समस्या भोग्दै आएका कुदुवासीले स्थायी रूपमा खानेपानी पाउन नसकेको बताउनुभयो ।
चुनावमा जनताका घरदैलोमा आश्वासन बाँड्न र जनताको मन जित्न आउने उम्मेदवारसहित नेता कार्यकर्तासँग विकासको गति बढाउन मतदाताले आग्रह गरेका छन् । नेकपाबाट प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार शक्तिबहादुर बस्नेतले नलगाड नगरपालिका–५, सिर्के बारेकोट गाउँपालिका–८ को साँधुतरा–सिर्के जोड्ने मोटरेबल पुल, छेउमै रहेको झोलुङ्गे पुल मर्मतमा बेवास्ता गरेको भन्दै मत माग्न पुगेका उम्मेदवारसहित नेता कार्यकर्तालाई गाउँमा बस्नसमेत नदिइएको बताइएको छ ।
साँघुतरा–सिर्केस्थित नलगाड नदीमा करिब २५ वर्षअघि निर्माण गरिएको झोलुङ्गे पुल मर्मतका लागि पटक पटक सम्बन्धित निकाय, सरोकारवालासँग आग्रह गरे पनि बेवास्ता गरेका कारण पुल मर्मत हुन नसक्दा कुनै पनि पार्टीलाई गाउँमा पस्न नदिने स्थानीयको भनाइ छ । नलगाड जलविद्युत् आयोजना, जाजरकोट–जुम्ला सडक अलपत्र अवस्थामा रहेकाले गौरवका आयोजना अघि बढाउन सरोकारवाला निकायसँग मतदाताले आग्रह गरेका छन् ।
विकासनिर्माण गर्न ठेक्का लिएका ठेकेदारले समयमा काम सम्पन्न नगरी बेवास्ता गरेपछि नेता कार्यकर्ताले दुःख पाउने गरेका छन् । गौरवका आयोजनामा प्राथमिकता दिनुपर्ने जोड उनीहरूको छ । पूर्वाधार विकास कार्यालयले सम्झौता अनुसारको कार्य सम्पन्न नगरेको, योजना अलपत्र पारी लापर्बाही गरेको, कार्यतालिका अनुसार काम सम्पन्न नहुँदा पटक पटक ठेक्का सम्झौता तोेड्न फाइल तयार गरी मन्त्रालयमा पेस गरे पनि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले चासो नदिएपछि अलपत्र परेको छ । जोखिमपूर्ण झोलुङ्गे पुलबाट सर्वसाधारण आउजाउ गर्नुपर्ने बाध्यता छ ।