रजनी योगी
सुर्खेत, माघ २७ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०७४ मा कर्णालीका १२ सिटमध्ये छ सिट नेकपा (एमाले) ले जितेको थियो । त्यसको ठिक पाँच वर्षपछि २०७९ मा भएको निर्वाचनमा प्रत्यक्षतर्फ कर्णालीबाट एमालेको नतिजा शून्य भयो । आगामी फागुन २१ गते हुन लागेको निर्वाचनबाट एमाले २०७९ भुलेर २०७४ साल दोहो¥याउने दाउमा छ ।
एमालेले यो चुनावबाट कर्णालीका कम्तीमा पनि पाँच वटा निर्वाचन क्षेत्रमा जित सुनिश्चित गर्ने योजना बनाएको छ । एमाले केन्द्रीय सचिव तथा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले पनि कम्तीमा पाँच सिट एमालेले सुरक्षित गर्ने बताउनुभएको छ । एमालेको पक्षमा माहोल बन्दै गएकाले धेरै स्थानमा सहज जित निकाल्ने दाबी उहाँको छ ।
एमाले यहाँ नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सहितको प्रतिस्पर्धी शक्ति हो । गत चुनावमा तत्कालीन माओवादी केन्द्र र कांग्रेससहितको गठबन्धनका कारण प्रत्यक्षतर्फ प्रतिनिधि सभामा शून्य भएको एमाले समानुपातिकतर्फ भने पहिलो बनेको थियो । समानुपातिकमा एमालेले सबैभन्दा धेरै एक लाख ८३ हजार १३३ मत पाउँदा दोस्रो स्थानमा रहेको कांग्रेसले एक लाख ८० हजार ९०९ र माओवादी केन्द्रले एक लाख ३५ हजार ४९६ मत पाएका थिए । यो नतिजाले कर्णालीमा एमाले बलियो राजनीतिक शक्ति भएको देखाउँछ ।
त्यसमाथि आगामी चुनावका लागि ठुला दलबिच गठबन्धन भएको छैन । बलियो साङ्गठनिक प्रभावलाई उपयोग गरेर एमालेले कर्णालीबाट पुनरागमन गर्ने लक्ष्य राखेको हो । एमाले नेताहरूका अनुसार उसले विशेष गरेर सुर्खेत र दैलेखका दुई/दुई वटै निर्वाचन क्षेत्रसहित पाँच ठाउँमा सहज जित हुने आकलन गरेको छ । अघिल्लो पटक सुर्खेतबाट प्रतिनिधि सभाका दुवै सिट कांग्रेसले जितेको थियो । सुर्खेत कांग्रेसका दुई प्रभावशाली नेता पूर्णबहादुर खड्का र हृदयराम थानी यस पटक चुनावी मैदानमा हुनुहुन्न । सुर्खेत–१ बाट कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनावी मैदान छाड्दा एमालेले सहज महसुस गरेको देखिन्छ । उहाँको स्थानमा कांग्रेसबाट खड्काका आफ्नै भाइ विष्णुबहादुर खड्का चुनावी मैदानमा हुनुहुन्छ । २०७९ सालको निर्वाचनमा निर्वाचित पूर्णबहादुर खड्काले ४२ हजार ६०७ मत पाउनुभएको थियो । एमालेका ध्रुव शाहीले ३० हजार ९८८ मत पाउनुभएको थियो । शाही यस पटक पनि उम्मेदवार हुनुहुन्छ । यसै गरी सुर्खेत–२ मा चुनाव लड्दै आएका थानीको स्थानमा यस पटक कांग्रेसबाट नारायण कोइराला उम्मेदवार बन्नुभएको छ । एमालेले जिल्ला कमिटी अध्यक्ष कुलमणि देवटालाई उठाएको छ । सुर्खेतका दुवै क्षेत्रमा सहज जित निकाल्ने दाबी एमालेको छ ।
कम्तीमा पाँच सिट सुरक्षित गर्ने दाउमा रहेको एमालेका लागि कर्णालीका थप पाँच जिल्लामा भने कठिनाइ हुने देखिएको छ । २०६४ सालयता एमालेले जाजरकोट, रुकुमपश्चिम, कालीकोट, जुम्ला र हुम्लामा चुनाव जित्न सकेको छैन । जुम्लामा २०५६ सालमा एमालेका देवीलाल थापाले चुनाव जित्नुभएको थियो । त्यसयता एमालेले जित्न सकेको छैन । २६ वर्षअघिको नतिजा पुनरागमन गराउने लक्ष्यसहित एमालेले यसपटक शान्तिलाल महतलाई उम्मेदवार बनाएको छ । उहाँले २०७९ सालमा निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाहीसहित नेकपाका नरेश भण्डारी, कांग्रेसका दीपबहादुर शाही र रास्वपाका विनीता कठायतसहितका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । कर्णालीको हिमाली जिल्ला हुम्लामा पनि २०५६ सालमा एमालेका गोरख बोगटीले जित्नुभएको थियो । त्यसयता एमाले कमजोर बन्दै गएको छ । यस पटक २०५६ को नतिजा पुनरागमन गराउने जिम्मेवारीसहित एमालेले दल फडेरालाई उम्मेदवार बनाएको छ । यहाँ नेकपाबाट दीपेन्द्र रोकाया, कांग्रेसबाट जयपति रोकाया, रास्वपाबाट टासी ल्हान्जोमलगायतका उम्मेदवार छन् । यसै गरी जाजरकोट, कालीकोट, सल्यान र रुकुमपश्चिममा पनि एमाले कमजोर देखिएको छ ।