• २७ माघ २०८२, मङ्गलबार

अन्तिम चुनाव भनी मत माग्दै शाह

blog

बुटवल समाचारदाता

बुटवल, माघ २७ गते । रुपन्देही निर्वाचन क्षेत्र नं. ५ मा नेपाली कांग्रेसबाट चुनावमा होमिएका भरतकुमार शाहले यस पटकको चुनाव आफ्ना लागि अन्तिम हो भन्दै जनतासँग मत मागिरहनुभएको छ । फागुन २१ गते हुने निर्वाचन आफ्नो अन्तिम निर्वाचन भन्दै उहाँ मतदाताका घर घर पुगिरहनुभएको छ । उहाँले भन्नुभयो, “अब यो निर्वाचन मेरा लागि अन्तिम भएकाले विजयी बनाउन आग्रह गर्दछु ।” शाहको संसदीय यात्राको करिब २६ वर्षको लामो राजनीतिक इतिहासको अन्तिम परीक्षा बन्दै छ यो आमनिर्वाचन । शाहले रुपन्देही निर्वाचन क्षेत्र नं. ५ बाट २०५६ सालदेखि लगातार निर्वाचन लड्दै आउनुभएको छ । त्यसमा उहाँ तीन पटक जित हासिल गर्नुएको छ भने दुई पटक पराजित हुनुभएको छ ।  

उहाँको संसदीय यात्रा २०५६ सालदेखि सुरु भयो, जहाँ उहाँले पहिलो पटकमै जित हासिल गर्नुभयो । २०६४ को पहिलो संविधान सभाको निर्वाचनमा भने उहाँले पराजय भोग्नु प¥यो । त्यसपछि दोस्रो संविधान सभाको निर्वाचन २०७० मा भने उहाँ विजयी हुनुभयो । त्यसपछि २०७४ को सङ्घीय निर्वाचनमा उहाँ विजयी बन्दा २०७९ को निर्वाचनमा भने पराजय भोग्नु प¥यो । पाँच पटकको निर्वाचनमा तीन पटक जित र दुई हार बेहोर्नुभएका शाहको यो अन्तिम निर्वाचन हो । उहाँसँगै नेकपा (एमाले) बाट युवानेता खिमलाल भट्टराई चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यो निर्वाचनमा शाह र भट्टराईबिच नै मुख्य प्रतिस्पर्धा हुने धेरैको अनुमान छ । यसअघि २०७९ को निर्वाचनमा रुपन्देही–५ बाट शाहलाई पराजित गरेका एमालेका वासुदेव घिमिरेलाई धेरै मतान्तरले विजयी बनाउन खिमलाल भट्टराईको चुनावी रणनीतिले काम गरेको बताइन्छ । 

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीले पूर्वमन्त्री मोहम्मद वकिल मुसलमान र जनमत पार्टीले पनि पूर्वमन्त्री ओमप्रकाश यादवलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ अनुहार तौफिक अहमद खानलाई उम्मेदवार बनाएको छ । रुपन्देही–५ बाट २६ जनाले उम्मेदवारी दिएका छन् । नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बन्नुभएका मोहम्मद वकिल मुसलमानको पकड पनि यो क्षेत्रमा बलियो छ । मधेशी समुदायको मत उहाँलाई जाने आकलन गरिएकाले उहाँले कांग्रेस र एमालेमध्ये जसको बढी मत काट्नुहुन्छ, अर्को उम्मेदवारलाई जित हात पार्न सजिलो हुने बताइएको छ । क्षेत्र नं. ५ मा कञ्चन, मायादेवी र गैँडहवा गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका–१ देखि ११ सम्म र सैनामैना नगरपालिका–५ देखि ११ सम्म गरी ४० वटा वडा पर्छन् । गत २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससहित पाँचदलीय गठबन्धनले १४ वडामा जित हात पार्दा एमाले एक्लैले १७ वटा वडा जितेको थियो । तसर्थ यो निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) मध्ये कुनै एक दलको जित निश्चित रहेको यहाँका मतदाता बताउँछन् ।