बैतडी, माघ २७ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै बैतडीमा मतदानस्थलको निरीक्षण कार्यलाई तीव्रता दिइएको छ ।
जिल्ला सुरक्षा समितिले अतिसंवेदनशील मतदानस्थललाई प्राथमिकतामा राखेर अनुगमन तथा निरीक्षणको काम गरिरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभयो । सुरक्षाको दृष्टिकोणले बैतडीका १२९ मतदानस्थलमध्ये ३३ वटा अतिसंवेदनशीलको सूचीमा रहेका छन् ।
यस्तै, २८ वटा मतदानस्थल संवेदनशील र ६८ वटा मतदानस्थल सामान्य सूचीमा छन् । जिल्लामा अतिसंवेदनशील सूचीमा रहेका सबै मतदानस्थलको निरीक्षण गर्ने योजना रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
निरीक्षणका क्रममा मतदानस्थलको अवस्था, सुरक्षा व्यवस्था र भौतिक पूर्वाधारको अवलोकन गर्नुका साथै स्थानीय जनप्रतिनिधि, नागरिक अगुवालगायतसँग छलफल गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो ।
निर्वाचनका बेला खटिने कर्मचारीको आवास सुविधा, विद्युत्, खानेपानीलगायत आधारभूत कुराको उपलब्धतासम्बन्धी अवस्थाको पनि निरीक्षण भइरहेको छ । कतिपय मतदानस्थल तथा केन्द्रमा सिसीटिभी क्यामेराको व्यवस्था आवश्यक देखिएकाले त्यसको व्यवस्थापनका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।
यहाँ १२९ मतदानस्थलमा २१४ मतदान केन्द्र रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीका अनुसार एक लाख ५६ हजार ३७२ जना मतदाता छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको यहाँ ११ जना चुनावी मैदानमा रहनुभएको छ । रासस