नवीनराज कुइँकेल
लमजुङ, माघ २७ गते । लमजुङको सुन्दरबजारस्थित लमजुङ कृषि क्याम्पसमा विद्यार्थीहरुले तालबन्दी गरेका छन् । कृषि तथा पशु विज्ञान अध्ययन संस्थानअन्तर्गत लमजुङ कृषि क्याम्पसमा चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले हालै सार्वजनिक गरिएको पुनः परीक्षा तालिकाप्रति आपत्ती जनाउँदै तालाबन्दी गरेका हुन् ।
डिन कार्यालयले एकतर्फी ढङ्गबाट मिति २०८२ माघ २५ गते सार्वजनिक गरेको परीक्षा तालिकाले विद्यार्थीहरूको तयारी समय, नियमित अध्ययन तथा व्यावहारिक अवस्थालाई ध्यान नदिईएको विद्यार्थीहरुको भनाइ छ । विद्यार्थीहरुले पटक पटक राखेको मागलाई डीन कार्यालय र क्याम्पस प्रशासनले नजरअन्दाज गर्दै मनमानी ढङ्गले परिक्षा तालिका निकालेको प्रति आफूहरुको गम्भीर असमती रहेको विद्यार्थी नेता निश्चल घिमिरेले बताउनुभयो ।
विद्यार्थीहरूले जारी गरेको विज्ञप्तिमा नियमित अध्ययनका लागि आवश्यक समय नदिई परीक्षा लिइनु अनुचित भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई भार पर्ने गरिएको निकालिएको परिक्षालाई तत्काल सानुपर्ने माग गरिएको छ । आफूहरुको मागलाई वेवास्ता गरिएकाले क्याम्पसमा तालाबन्दी गर्न बाध्य भएको विज्ञप्तिमा विद्यार्थीहरुले बताएका छन् ।
यस विषयमा विद्यार्थीहरूले डिन कार्यालय, क्याम्पस प्रशासन तथा परीक्षा नियन्त्रण शाखालाई औपचारिक रूपमा जानकारी गराएका छन् । सम्बन्धित निकायले समस्या समाधानतर्फ गम्भीरता नदेखाए तथा विद्यार्थीका मागलाई वेवास्ता गरेमा आन्दोलन थप चर्किने र यसको जिम्मेवार क्याम्पस प्रशासन र डिन कार्यालयले लिनुपर्ने विज्ञप्तीमा उल्लेख छ । क्याम्पस प्रमुख डा. रामकुमार श्रेष्ठले विद्यार्थीको मागको विषयमा डिन कार्यालयलाई जानकारी गराइएको र थप छलफलमा रहेको बताउनुभयो ।