• २७ माघ २०८२, मङ्गलबार

मन्त्री शाहीको वडा प्रवेश गर्ने खोलामा पुल नहुँदा सास्ती

blog

पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको वडा प्रवेश गर्ने फुगाढ खोलामा पुल नहुँदा स्थानीयले सधैँ सास्ती खेपिरहेका छन्। तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, माघ २७ गते । कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको वडा प्रवेश गर्ने खोलामा पुल नहुँदा स्थानीय नागरिकले सधैँ सास्ती खेपिरहेका छन्। जिल्लाको रास्कोट नगरपालिका–९ स्थित पूर्वमुख्यमन्त्री शाहीको गृहपालिका प्रवेश गर्ने फुगाढ खोलामा पुल नहुँदा वर्षात्को समयमा कर्णाली करिडोरमा यात्रा गर्ने यात्रुले निकै जोखिम मोल्नुपरेको छ।

निर्वाचनका बेला मत माग्दा आफूले धेरै विकास गरेको बताउने नेताहरूमध्ये शाहीकै वडा प्रवेश गर्ने ठाउँमा पुल नहुँदा स्थानीयले असन्तुष्टि जनाएका छन्। “आफ्नै वडा प्रवेश गर्ने पुल बनाउन योजना हाल्न नसक्नेले जिल्लाको सबै विकास आफ्नै पालामा भएको भनेर कसरी विश्वास दिलाउने ?” पचालझरना–७ का कटक बमले भन्नुभयो।

“उहाँ पहिलो पटक चुनाव लडिरहनुभएको पनि होइन। १३ वर्ष लगातार सांसद र मन्त्री बन्नुभएका व्यक्तिले जिल्लाका लागि कार्यकर्ताको व्यवस्थापन बाहेक अन्य ठोस काम गर्न नसकेको कुरा उहाँकै वडा प्रवेश गर्ने खोलाले प्रस्ट पारेको छ,” बमको भनाइ छ।

शाही २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएपछि तत्कालीन ऊर्जामन्त्री बन्नुभएको थियो। २०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि कर्णाली प्रदेशको मुख्यमन्त्री बन्नुभयो। २०७९ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित शाही अहिले पुनः आफ्नो दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा चुनावी प्रचारमा सक्रिय हुनुहुन्छ। प्रचारका क्रममा उहाँले आफू पदमा नभएको बेला बनेका विकास संरचनासमेत आफ्नै पहलमा बनेको बताउने गरेको स्थानीयको आरोप छ।

उता नेकपा माओवादी केन्द्रकै तर्फबाट उम्मेदवारी दिनुभएका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) १८ वर्षपछि पुनः चुनावी मैदानमा हुनुहुन्छ। उहाँ २०६४ सालको संविधानसभा निर्वाचनमा कालीकोटबाट निर्वाचित हुनुभएको थियो। त्यसपछि उहाँको दल चुनाव बहिष्कारमा रहेको थियो। अहिले पुनः प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्दै प्रचारमा रहँदा अन्य दलका नेताहरूले विकास गर्न नसकेको र विभिन्न संरचना निर्माण आफ्नै पहलमा भएको उहाँको दाबी छ।