वालिङ समाचारदाता
वालिङ (स्याङ्जा) माघ २७ गते । ‘गल्याङ काव्य उत्सव तथा स्रष्टा सम्मान समारोह–२०८२’ मा अग्रज साहित्यकार ऋषिप्रसाद लामिछाने (गोर्खे साइँलो) लाई ‘जगत्रदेवी साहित्य सम्मान–२०८२’ बाट सम्मानित गरिएको छ । लामिछाने पल्लव साहित्य प्रतिष्ठान, भरतपुर चितवनका संस्थापक हुनुहुन्छ । नेपाली साहित्यिक जगत्का नाट्यसम्राट बालकृष्ण समको १२४ औँ जन्मजयन्ती तथा कवि शिरोमणि लेखनाथ पौड्यालको ६० औँ स्मृति दिवसको अवसर पारेर जगत्रदेवी साहित्य सङ्गमले उत्सव गरेको हो ।
स्याङ्जाको गल्याङस्थित गल्याङ बहुमुखी क्याम्पसमा भएको कायक्रममा पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मी, पोखराथोक साहित्य सङ्गमका अध्यक्ष गोविन्द खनाल, पल्लव साहित्य प्रतिष्ठानका सदस्य लोकनाथ खराल, गल्याङ नगरपालिका–७ का अध्यक्ष झविलाल पाण्डेसहित थुप्रै स्रष्टाले आआफ्नो रचना प्रस्तुत गर्नुभएको थियो ।
सो कार्यक्रममा जगत्रदेवी साहित्य सङ्गमका अध्यक्ष चण्डिकाप्रसाद भट्टराई तथा उपाध्यक्ष लीलाबल्लौ अर्यालले बालकृष्ण सम र लेखनाथ पौड्यालको साहित्यिक परिचय दिनुभयो । कोषाध्यक्ष पार्वती थापा र सचिव डिल्लीराम भण्डारीले काव्य उत्सव र आँधीखोले साहित्यका बारेमा जानकारी गराउनुभयो । सो काव्य उत्सवमा अभियन्ता डा. विश्व विके खड्कालाई दोसल्ला र कदरपत्रद्वारा सम्मान गरिएको छ ।