रामकृष्ण बोहरा
बागलुङ, माघ २७ गते । तत्कालीन सामाजिक विकास कार्यालय र उद्योग तथा पर्यटन कार्यालय मिलेपछि बनेको एकीकृत सेवा कार्यालयले चालु आर्थिक वर्षमा गर्ने सामाजिक क्षेत्रका क्रियाकलापको सार्वजनिकीकरण गरेको छ । साथै, ती कार्यक्रममार्फत लक्षित वर्गको बजेटलाई सबै पालिकाको सहकार्यमा खर्च गरेर कार्यान्वयन गरिने छ ।
महिला बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुका लागि विनियोजित बजेट र कार्यक्रमलाई व्यवस्थित बनाउन सरोकारवालाको बैठक गरिएको हो । कार्यालयका प्रमुख शिवप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले तत्काल कार्यक्रम सञ्चालन गरेर सफल बनाउने निष्कर्ष निकालेको शर्माले बताउनुभयो । बैठकमा अपाङ्गता भएकाहरुको संघसंस्था र जेष्ठ नागरिक संघका पदाधिकारीहरुको सहभागिता थियो ।
पालिका तहमा रहेका महिला तथा बालबालिका शाखाले पनि आफ्ना कार्यक्रममा दोहोरोपना नहुने गरी सहकार्य गर्दै आफ्नो क्षेत्रको विकासमा ध्यान दिन जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले आग्रह गर्नुभएको छ । सामाजिक क्षेत्र बलियो बन्दा अन्य विकासको क्षेत्रमा पनि सुशासन कायम हुने भन्दै सबै क्षेत्रले आफ्नो क्षमता विकास र अन्य क्रियाकलापमा ध्यान दिएमा बजेटको उपयोगिता बढ्ने थापाको भनाइ थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा ‘अविरल’, गैर सरकारी संस्था महासंघका अध्यक्ष मुक्तिराम सापकोटा, अपाङ्गता भएकाहरु, महिला तथा बालबालिका शाखाका प्रमुखले हरेक विषयमा सहकार्य गरेर जानुपर्ने सुझाव दिनुभएको छ । त्यसका लागि उचित प्रचार प्रसार गरेर सबैलाई सेवामा जोड्ने निर्णय भएको हो ।
कार्यालय एकीकृत भएपनि यहाँ दुई सय १७ पूर्वाधारका योजना छन् । ती बाहेक उद्योग तथा व्यवसाय दर्ता र सामाजिक विकासको काम पनि गर्नुपर्ने बाध्यता छ । तर समन्वयमा गर्दा ती सबै क्रियाकलापमा सफल भइने कार्यालय प्रमुख शर्माको भनाइ छ ।