बुटवल, माघ २७ गते । नेपथ्यले बुटवलमा दर्शकको भव्य उपस्थितिमा सानदार प्रस्तुति दिएको छ । देशव्यापी यात्रामा रहेको नेपथ्यको यो दोस्रो कन्सर्ट हो । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित कन्सर्टमा मुख्य गायक अमृत गुरुङको प्रस्तुतिमा सुरुदेखि अन्तिमसम्मै तालमा ताल मिलाएर दर्शकले साथ दिएका थिए ।
‘हो रामा रामा’ गीतबाट सुरु भएको कन्सर्टमा तीव्र गतिका गीत एकपछि अर्को गरी प्रस्तुत हुँदै थिए । त्यसै क्रममा अमृतले कर्णालीको सन्दर्भ निकाल्नुभयो । “उहिलेको वैभवशाली कर्णालीमा पछि के बिग्रियो बिग्रियो, त्यो सिङ्गो भेग समय क्रममा पछाडि छुटे जस्तो भयो,” उनले भने, “अब राष्ट्र निर्माणको मूल प्रवाहमा मिलाएर उसको त्यो वैभव फर्काउनु छ है... ।” त्यसपछि उतैबाट सङ्कलन गरिएको लोकभाका ‘टप्पा’ मा आधारित गीत ‘कर्नालीका छाइला’ प्रस्तुत भयो ।
“बुटवलमा नेपथ्य कन्सर्ट आयोजना गर्दा ठुलो सङ्ख्यामा दर्शक जुटाउन मुस्किल पर्दैन,” कार्यक्रम सकिएपछि स्थानीय आयोजक ब्याकअप इभेन्ट्सका सन्तोष टन्डनले भन्नुभयो, “प्रस्तुतिदेखि व्यवस्थापनसम्मको कुशलताका कारण सबै दर्शक सन्तुष्ट भएर फर्किएको देख्दा आनन्द महसुस हुन्छ ।” अमृतलाई सदा झैँ ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरजले साथ दिनुभएको थियो ।