गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २७ गते । सरकारको संयुक्त बजार अनुगमन टोलीले उपत्यकाका बजारमा खाना पकाउने ग्यास सहज रूपमा नपाएको जनाएको छ । अनुगमनका क्रममा बजारमा ग्यास हुँदै नभएको नभई सहज रूपमा तुरुन्तै पाउन सक्ने अवस्था भने नरहेको पाइएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल आयल निगम र गुणस्तर तथा नापतौल विभागले सोमबार संयुक्त रूपमा अनुगमन गरेका हुन् ।
विभागका अनुसार अनुगमन टोलीले सोमबार विभिन्न चार वटा छुट्टाछुट्टै समूह बनाएर कीर्तिपुर, कलङ्की, कुलेश्वर, सोह्रखुट्टे, नयाँ बसपार्क, बालाजु, भक्तपुर, कोटेश्वर, रिङरोडका अन्य आसपासका क्षेत्रमा अनुगमन गरेको थियो ।
विभागका निर्देशक नरहरि तिवारीले अनुगमनमा उपभोक्ताले सकिनेबित्तिकै सहज रूपमा खाना पकाउने ग्यास पाउन सक्ने अवस्था नरहेको पाएको जानकारी दिनुभयो । विभागबाट केही दिनयता ग्यासलक्षित अनुगमन गरिरहँदा पनि ग्यास अभावको गुनासो नरोकिएपछि सोमबारदेखि संयुक्त टोली बनाएर अनुगमन थप तीव्र पारेको उहाँले जानकारी दिनुभयो ।
अनुगमन टोलीले ग्यासका ठुला उद्योग, डिपो, ग्यासका खुद्रा विक्रेता र उपभोक्ता सबैको अनुगमन गरिएको प्रवक्ता तिवारीले बताउनुभयो । अनुगमनमा बजारमा ग्यासको बिक्रीवितरण र मौज्दात पनि हेरिएको छ ।
ग्यासको आपूर्ति सहज भए वा नभएको विषयमा निगरानी गर्ने र यसको समाधान गर्ने काम नेपाल आयल निगमको हो । विभागका निर्देशक तिवारीले आयल निगमले बजारमा हल्ला भए जस्तो ग्यासको अभाव नभएको जिकिर गरे पनि विभागमा ग्यास अभावको अत्यधिक गुनासो आएको बताउनुभयो ।
बजारमा अभाव भएपछि औद्योगिक र प्रतिष्ठानले खरिद गर्ने ग्यासको सङ्ख्या घटाएर उपभोक्तालाई दिँदा समस्या केही समाधान हुने उहाँको मत छ । यतिबेला ग्यासको अभाव भएको भन्दै आवश्यकताभन्दा बढी मौज्दात राख्ने गरेको पाइएको छ । आवश्यकताभन्दा बढी ग्यास मौज्दात गरेको/राखेका भए जरिबानासहित कारबाही हुने पनि उहाँले बताउनुभयो । विभागका अनुसार अनुगमनका क्रममा उपभोक्ताले खरिद गरिरहेको ग्यासको तौल सही भए वा नभएको पनि हेरिने छ ।
एउटा समूहले कम्तीमा १० वटा फर्मको अनुगमन गरी सोको विश्लेषणसहित रिपोटिङ अनुगमन गर्दा ग्यासको आपूर्तिको अवस्था, बजारको उपलब्धता, खरिदबिक्रीको रेकर्ड र फरक ग्यास साट्दा वहन गर्नुपर्ने अतिरिक्त आर्थिक शुल्कको व्यवस्थासमेतको जानकारी लिइएको छ ।