चन्द्र पन्दाक
ताप्लेजुङ, माघ २७ गते । ताप्लेजुङमा सम्पन्न जिल्लास्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मैवाखोला गाउँपालिका प्रथम भएको छ । विभिन्न ५५ वटा पदक जित्दै सोमबार सम्पन्न प्रतियोगितामा मैवाखोला गाउँपालिका प्रथम भएको हो ।
आयोजक जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अनुसार यहाँका आठ वटा स्थानीय तहलाई पछि पार्दै मैवाखोला गाउँपालिका प्रथम भएको हो । मैवाखोलाले जितेको विभिन्न खेल विधाका ५५ पदकमध्ये २३ वटा स्वर्ण पदक रहेको छ । बाँकी २० वटा रजत र १२ वटा कास्य पदक रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बू (गणेश) ले जानकारी दिनुभयो ।
समिति अध्यक्ष लिम्बूका अनुसार १३ स्वर्ण पदक, १३ रजत र २१ कास्य गरी कुल ४७ वटा पदक जित्दै आठराई त्रिवेणी गाउँपालिका दोस्रो भएको छ । प्रतियोगितामा जिल्लाको एकमात्र फुङ्लिङ नगरपालिकाले विभिन्न ४२ वटा पदक जितेर तेस्रो भएको छ । कुल पदकमध्ये फुङ्लिङले जितेको ११ वटा स्वर्ण, आठ रजत र २३ वटा कास्य रहेको छ ।
त्यस्तै, नौ स्वर्ण, १२ रजत र १६ कास्यसहित ३७ वटा पदक जित्दै सिदिङ्वा गाउँपालिका चौथो बन्न सफल भएको छ । विभिन्न खेल विधाअन्तर्गत चार स्वर्ण, पाँच रजत र छ कास्य गरी १५ वटा पदक जितेर मेरिङ्देन गाउँपालिका पाँचौं भएको छ । मिक्वाखोला गाउँपालिका तीन स्वर्ण, पाँच रजत र १७ वटा कास्य पदकमा जित निकाल्दै छैटौं बनेको छ ।
यसैगरी, दुई स्वर्ण, एक रजत र पाँच कास्यसहित आठवटा पदक जित्दै सिरिजङ्घा गाउँपालिका सातौं भएको छ । पाथीभरा याङ्वरक गाउँपालिका एक स्वर्ण, दुई रजत र दुई कास्य पदकसहित आठौं हुँदा पदकबिहीन बन्दै फक्ताङ्लुङ गाउँपालिका अन्तिम अर्थान नवौं भएको छ । प्रतियोगितामा फक्ताङ्लुङले कुनै पनि पदक जित्न नसकेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
जिल्ला खेलकुद विकास समितिको आयोजना तथा सिदिङ्वा गाउँपालिकाको संयोजन साथै व्यवस्थापनमा साब्लाखुको टावरडाँडा खेलमैदानमा प्रतियोगिता सञ्चालन गरिएको थियो । भलिबल, कबड्डी, एथलेटिक्स, सितोरियो कराँते, तेक्वान्दो लगायतका विधाअन्तर्गत ६६ स्वर्ण, ६६ रजत र १०२ कास्य गरी कुल २३४ पदकका लागि छात्र–छात्राले प्रतिस्पर्धा गरेका थिए ।
यता प्रतियोगितामा पदक विजेताहरुलाई सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राई, उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना), निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष लिम्बू, विभिन्न स्थानीय तहका पदाधिकारी लगायतले शिल्ड, ट्रफी, पदक र प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रतियोगिता गएको शुक्रबार सुरु भई सोमबार सम्पन्न भएको हो ।
आगामी वर्ष पाथीभरा याङ्वरक गाउँपालिकामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने खेलकुद विकास समितिले जनाएको छ । विगतमा सदरमुकाममा मात्र सञ्चालन गर्ने गरिएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पछिल्लो चार वर्षयता सदरमुकामबाहिर विभिन्न स्थानीय तहमा खेलाइँदै आएको छ ।