राजनीति पहाडबाट झरेको झरना जस्तै शुद्ध, स्वच्छ र जीवनदायी हुनुपर्ने क्षेत्र हो । पहाडको टुप्पोबाट निस्केको झरना जति स्वच्छ हुन्छ, तल बग्दै जाँदा त्यही शुद्धताले गाउँ, खेत, बस्ती र जीवनलाई सिञ्चित गर्छ । राजनीति पनि त्यसै गरी मूल तहमा शुद्ध भए मात्र समाज, राज्य र नागरिकको जीवनलाई ऊर्जाशील बनाउन सक्छ । झरनाको मुहानमै फोहोर मिसियो भने तलसम्म पुग्दा त्यो पानी रोगको कारण बन्छ । आजको राजनीति पनि धेरै हदसम्म त्यही अवस्थाबाट गुज्रिरहेको छ ।
राजनीतिको मूल उद्देश्य सेवा, सुशासन र जनहित हो । जब स्वार्थ, लोभ, सत्तामोह र अवसरवादले राजनीति कब्जा गर्छ, तब यो जनताको भरोसा गुमाउने माध्यम बन्छ । शुद्ध राजनीति भनेको सत्य बोल्ने साहस, गलतका विरुद्ध उभिने आँट र जनताप्रतिको इमानदार प्रतिबद्धता हो । यो कुनै व्यक्ति वा दलको निजी सम्पत्ति होइन, साझा जिम्मेवारी हो । राजनीतिमा प्रवेश गर्ने हरेक व्यक्तिले आफैँलाई झरनाको मुहान जस्तै स्वच्छ राख्न सक्नु पर्छ ।
शुद्ध राजनीतिले नै लोकतन्त्रलाई मजबुत बनाउँछ । जब नीति, निर्णय र व्यवहारमा पारदर्शिता हुन्छ, तब जनतामा विश्वास जाग्छ । राजनीति फोहोरी खेल होइन, समाजलाई दिशा दिने पवित्र माध्यम हो भन्ने सोच विकास हुन आवश्यक छ । विचार फरक हुन सक्छन्, नियत र नैतिकता एउटै हुनु पर्छ । विरोध पनि मर्यादित र रचनात्मक हुनु पर्छ, किनकि राजनीति दुश्मनी होइन, समाधान खोज्ने प्रक्रिया हो ।
आजको आवश्यकता नयाँ पुस्तामा शुद्ध राजनीतिक चेतनाको हो । शिक्षा, संस्कार र नैतिक मूल्यसँग जोडिएको राजनीतिबिना देशले दिगो प्रगति गर्न सक्दैन । झरनाको पानी जस्तै राजनीति पनि सबैका लागि उपयोगी, समान र जीवनदायी बनोस् । मुहान शुद्ध राख्ने जिम्मेवारी नेतृत्वमा मात्र होइन, सचेत नागरिकमा पनि हुन्छ । जब नागरिकले सही प्रश्न सोध्छन् र गलतलाई अस्वीकार गर्छन्, तब राजनीति आफैँ शुद्ध बन्दै जान्छ । यही शुद्ध राजनीतिले समृद्ध, सभ्य र न्यायपूर्ण समाज निर्माण गर्न सक्छ ।
राजनीति मूलतः जनसेवा, न्याय र समानताका लागि गरिनुपर्ने पवित्र माध्यम हो तर व्यवहारमा यसले स्वार्थ, सत्ता लोभ र व्यक्तिगत फाइदाको रङ्ग धेरै ओढेको देखिन्छ । धेरै राजनीतिज्ञ जनताको समस्या समाधानभन्दा पनि आफ्नो पद, प्रतिष्ठा र आर्थिक लाभ सुरक्षित गर्नमै केन्द्रित छन् । चुनावको समयमा जनतासँग गरिने ठुला–ठुला प्रतिबद्धता सत्ता प्राप्त भएपछि बिर्सिने प्रवृत्ति व्यापक छ । नीति र सिद्धान्तभन्दा व्यक्ति र गुटको स्वार्थ हाबी हुँदा राजनीति दिशाहीन बन्दै गएको छ । यसले जनतामा निराशा, अविश्वास र राजनीतिप्रति वितृष्णा पैदा गरेको छ । स्वार्थले प्रेरित राजनीतिले भ्रष्टाचार बढाउँछ, सुशासन कमजोर बनाउँछ र विकासका काम अवरुद्ध गर्छ ।
राजनीतिमा स्वार्थ हाबी हुँदा योग्य र इमानदार व्यक्ति पन्छाइन्छन् र चाकडी, पहुँच र पैसाको बलमा निर्णय हुने अवस्था सिर्जना हुन्छ । यसले लोकतान्त्रिक मूल्य र नैतिकता कमजोर पार्छ । परिणामस्वरूप राजनीति जनताको सेवा गर्ने साधन होइन, सीमित व्यक्तिको स्वार्थ पूरा गर्ने औजार जस्तो देखिन थाल्छ । यस अवस्थाबाट मुक्त हुन राजनीतिमा नैतिकता, पारदर्शिता र जवाफदेहिता अनिवार्य छ । स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितलाई केन्द्रमा राख्ने नेतृत्व विकास गर्नु आजको आवश्यकता हो । सचेत नागरिक र जिम्मेवार नेताको संयोजनले मात्र राजनीति पुनः विश्वासयोग्य बन्न सक्छ ।
चुनाव नजिकिँदै जाँदा राजनीतिक दलभित्र देखिने संवेदनशील र विवादास्पद विषयमध्ये एक हो, टिकट वितरण । टिकट प्राप्त गर्ने चाहनाले धेरै नेता कार्यकर्तामा आशा जगाउँछ भने कतै असन्तोष, दल बदल र विद्रोहसमेत जन्माउँछ । विचार, सिद्धान्त र सङ्गठनप्रति निष्ठाभन्दा पनि व्यक्तिगत स्वार्थ, सत्ता प्राप्तिको आकाङ्क्षा र तत्कालीन लाभ हाबी हुँदा यो समस्या अझ गहिरो बन्दै गएको देखिन्छ । धेरैजसो अवस्थामा लामो समयदेखि पार्टीका लागि सङ्घर्ष गरेका, सङ्गठन निर्माणमा योगदान दिएका कार्यकर्ता टिकटबाट वञ्चित हुन्छन् । नेतृत्वसँग निकटता, आर्थिक हैसियत वा प्रभावशाली पहुँच भएका व्यक्तिले प्राथमिकता पाउँदा योग्य र इमानदार कार्यकर्तामा निराशा फैलिन्छ । यही निराशाले कतै दल बदल गर्न बाध्य बनाउँछ भने कतै स्वतन्त्र उम्मेदवारी वा खुला विद्रोहको रूप लिन्छ । यसले पार्टीको आन्तरिक एकता कमजोर बनाउनुका साथै समग्र राजनीतिक संस्कारलाई पनि क्षति पु¥याउँछ । दल बदल र विद्रोह केवल व्यक्तिगत निर्णय मात्र होइन, यो पार्टीभित्रको लोकतान्त्रिक अभ्यासको कमजोरीको सङ्केत पनि हो । पारदर्शी मापदण्ड, निष्पक्ष मूल्याङ्कन र कार्यकर्ताको भावना बुझ्ने संयन्त्र नहुँदा असन्तोष विस्फोट हुन्छ । परिणामतः चुनाव जित्नेभन्दा पनि पार्टीभित्रै घाउ लाग्ने अवस्था सिर्जना हुन्छ । यसले मतदातामा नकारात्मक सन्देश जान्छ र राजनीतिको विश्वसनीयता घटाउँछ ।
यस समस्याको समाधानका लागि दलहरूले स्पष्ट र न्यायपूर्ण टिकट वितरण प्रणाली अवलम्बन गर्न आवश्यक छ । योगदान, योग्यता, जनसमर्थन र नैतिक छविका आधारमा निर्णय गर्नु पर्छ । असन्तुष्ट पक्षसँग संवाद, छलफल र सहमतिको संस्कृति विकास गरिनु पर्छ । व्यक्तिगत महत्वाकाङ्क्षाभन्दा पार्टी र देशको हितलाई प्राथमिकता दिने राजनीतिक चेतना विकसित भएमा मात्र दल बदल र विद्रोहको प्रवृत्ति न्यून हुँदै जाने छ ।
चुनाव केवल सत्ता प्राप्तिको माध्यम होइन, लोकतन्त्रलाई सुदृढ बनाउने अवसर पनि हो । टिकटको लोभले सिद्धान्त त्याग्ने होइन, सिद्धान्तले टिकटको मूल्य निर्धारण गर्ने संस्कार बसाल्नु आजको राजनीतिक आवश्यकता हो । आजको राजनीतिक परिवेशमा दलहरूका सिद्धान्त, नीति र घोषणापत्रभन्दा व्यक्तिगत तथा समूहगत स्वार्थ हाबी हुँदै गएको छ । दलहरू मूलतः विचार, दर्शन र दीर्घकालीन लक्ष्यका आधारमा गठन हुने संस्था हुन् । व्यवहारमा हेर्दा ती सिद्धान्त प्रायः भाषण, दस्ताबेज र नारामा मात्र सीमित भएका छन्, निर्णय र व्यवहारमा भने स्वार्थ नै प्रधान बन्न पुगेको छ ।
आफ्नो स्वार्थ मिल्दा दल ‘राष्ट्रवादी,’ ‘लोकतान्त्रिक’ वा ‘प्रगतिशील’ देखिन्छ; तर स्वार्थ नमिले त्यही दल ‘अलोकतान्त्रिक,’ ‘असफल’ वा ‘भ्रष्ट’ करार गरिन्छ । सत्ता, पद, लाभ वा पहुँच प्राप्त हुने अवस्था आए दलभित्र नै सिद्धान्तको पुनव्र्याख्या गरिन्छ, आवश्यकता परे गठबन्धन बदलिन्छ, विगतका आलोचनालाई भुलिन्छ । स्वार्थमा ठेस लागेपछि उही दल, उही नेतृत्व र उही निर्णयप्रति कठोर विरोध सुरु हुन्छ । यसले राजनीतिक नैतिकताको गम्भीर सङ्कटलाई उजागर गर्छ । यस्तो प्रवृत्तिले दलहरूभित्र आन्तरिक लोकतन्त्र कमजोर बनाएको छ । सिद्धान्तनिष्ठ र इमानदार कार्यकर्ता हतोत्साहित छन्, अवसरवादी भने छिटो उक्लिरहेका छन् । परिणामस्वरूप नीति निर्माणमा दीर्घकालीन सोचभन्दा तत्कालीन लाभ हाबी हुन्छ, जसको प्रत्यक्ष असर शासन प्रणाली र जनविश्वासमा पर्छ । नागरिक राजनीतिलाई सेवा होइन, स्वार्थपूर्तिको माध्यमका रूपमा हेर्न बाध्य भएका छन् ।
दलहरूमा स्वार्थभन्दा सिद्धान्तलाई प्राथमिकतामा नराखेसम्म राजनीतिक स्थायित्व र सुशासन सम्भव छैन । विचारमा स्पष्टता, व्यवहारमा इमानदारी र निर्णयमा पारदर्शिता आवश्यक छ । दलहरूले सही–गलतको मूल्याङ्कन स्वार्थका आधारमा होइन, नीति, सिद्धान्त र जनहितका आधारमा गर्न सक्ने अवस्थामा मात्र लोकतन्त्र सुदृढ हुन सक्छ । स्वार्थकेन्द्रित राजनीति देशको भविष्यका लागि गम्भीर चुनौती बन्छ ।
कुनै पनि नेतृत्वले आफ्नो उमेर समूहभन्दा तलको पुस्तालाई कच्चा, अनुभवहीन र कमजोर ठान्ने प्रवृत्ति समाजमा व्याप्त छ । यो सोच प्रायः ‘हामीले भोगेको सङ्घर्ष अहिलेको पुस्ताले भोगेन’ वा ‘अनुभवबिना नेतृत्व सम्भव हुँदैन’ भन्ने धारणाबाट जन्मिन्छ । अनुभव आफैँमा महत्वपूर्ण भए पनि केवल उमेरका आधारमा क्षमतालाई मापन गर्नु अन्यायपूर्ण र दीर्घकालीन रूपमा हानिकारक हुन्छ ।
युवा पुस्ता फरक परिवेश, फरक प्रविधि र फरक सोचसहित हुर्किएको हुन्छ । उनीहरूको दृष्टिकोण, सिक्ने शैली र समस्यालाई हेर्ने तरिका पुरानो पुस्ताभन्दा भिन्न हुन्छ । यो भिन्नतालाई कमजोरी ठान्नु नेतृत्वको सङ्कुचित दृष्टि हो । यही भिन्नताले नवीनता, सिर्जनशीलता र परिवर्तनको ऊर्जा जन्माउँछ । विश्वका धेरै सफल परिवर्तन युवाको साहस, प्रश्न गर्ने बानी र जोखिम लिन सक्ने क्षमताबाट सम्भव भएका छन् ।
तलको पुस्तालाई कमजोर ठान्ने नेतृत्वले संस्थागत विकासमा अवरोध पु¥याउँछ । जब युवालाई अवसर नदिई केवल निर्देशन मात्र दिइन्छ, उनीहरूको आत्मविश्वास घट्छ र नेतृत्वप्रति निराशा बढ्छ । यसले पुस्तान्तरणलाई कमजोर बनाउँछ र सङ्गठन वा राष्ट्र भविष्यमा नेतृत्व सङ्कटतर्फ धकेलिन्छ । सक्षम नेतृत्व भनेको आफूभन्दा सक्षम, ऊर्जावान् र नयाँ सोच भएका मानिसलाई अघि बढाउन सक्ने क्षमता हो, नकि उनीहरूलाई दबाउने प्रवृत्ति ।
युवापुस्ताले पनि अनुभवको महत्व बुझ्नु पर्छ । अनुभव र ऊर्जाको संयोजन नै सशक्त नेतृत्वको आधार हो । वरिष्ठले मार्गदर्शन गर्ने र युवाले नवीन सोच र कार्यशैली थप्ने सहकार्यबाट मात्र दिगो प्रगति सम्भव हुन्छ । उमेरका आधारमा होइन, क्षमता, निष्ठा र दृष्टिकोणका आधारमा नेतृत्व विकास गर्नु आजको आवश्यकता हो । पुस्ताबिचको अविश्वास होइन, पारस्परिक सम्मान र सहकार्यले मात्र समाज र राष्ट्रलाई अगाडि बढाउन सक्छ ।
राजनीतिक शुद्धता र समाज विकास एकअर्काका पूरक हुन् । शुद्धताले नीतिनिर्माणमा इमानदारी, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्छ । जब राजनीति स्वार्थ, भ्रष्टाचार र पूर्वाग्रहबाट मुक्त हुन्छ, तब जनताको विश्वास बलियो बन्छ । यही विश्वासले सामाजिक एकता, समान अवसर र न्यायपूर्ण विकासको बाटो खोल्छ । समाज विकास शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनमा आधारित हुन्छ, जसको आधार स्वच्छ राजनीति हो । राजनीतिक शुद्धताले समावेशी सोचलाई प्रोत्साहन गर्छ र नागरिक सहभागिता बढाउँछ । त्यसैले राष्ट्र समृद्ध बनाउन राजनीति नैतिक, जिम्मेवार र मूल्यमा आधारित हुन अनिवार्य छ ।