काठमाडौँ, पुस २८ गते । गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक, वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति गोरखापत्र संस्थानले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
गोरखापत्र संस्थान सञ्चालक समितिका अध्यक्ष एवं महाप्रबन्धक लालबहादुर ऐरीको अध्यक्षतामा आज बसेको बैठकले दिवङ्गत दाहालप्रति शोक प्रस्ताव पारित गरेको हो ।
बैठकले शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मुलुकमा लोकतन्त्र स्थापनाका लागि उहाँले पुर्याउनु भएको योगदानको उच्च सम्मान गर्ने निर्णयसमेत गरेको छ ।
वरिष्ठ पत्रकार तथा लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि निरन्तर सङ्घर्षरत व्यक्तित्व दाहालको उपचारका लागि मैतीदेवीस्थित निवासबाट वीर अस्पताल ल्याउने क्रममा पुस २६ निधन भएको हो ।
वि.सं. १९९८ कात्तिक २५ गते ओखलढुङ्गाको साविक वरुणेश्वर गाउँ विकास समिति–३, रामपुरमा जन्मिनु भएका दाहाल नेपालको पत्रकारिता क्षेत्रको विकास, अभिव्यक्ति स्वतन्त्रताको रक्षा तथा लोकतन्त्र स्थापनाका लागि अदम्य साहस, निष्ठा र सङ्घर्षका प्रतीकका रूपमा परिचित हुनु हुन्थ्यो ।
पञ्चायतकालको कठोर निरंकुश शासनमा समेत सत्य र न्यायको पक्षमा कलम चलाउँदै उहाँले जनताको आवाज बुलन्द पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भयो ।
स्वर्गीय जीवनाथ दाहाल र नीलकुमारी दाहालका सुपुत्र दाहालले एम.ए. (नेपाली) सम्मको उच्च शिक्षा हासिल गर्नु भएको थियो । साहित्यिक चेतनाले ओतप्रोत उहाँको पत्रकारिता यात्रा विचार, सिद्धान्त र व्यवहारको सशक्त संयोजनका रूपमा स्थापित रह्यो । उहाँका श्रीमती सुधा दाहाल तथा छोरा सुधांशु दाहाल र हिमांशु दाहाल हुनु हुन्छ ।
पञ्चायतकालमा ‘राष्ट्रपुकार साप्ताहिक’ मार्फत प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाउँदा उहाँ पटक–पटक पक्राउ पर्नुका साथै करिब तीन वर्ष जेल जीवन बिताउन बाध्य हुनु भएको थियो ।