• २८ पुस २०८२, सोमबार

बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

blog

केशवराज भट्ट

वासुलिङ बैतडी, पुस २८ गते । बैतडीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाटी नजिक सोमबार बिहान भएको दुर्घटनामा जिपमा सवार अन्य सबै यात्रु घाइते भएका छन् ।

सुर्नया गाउँपालिका–६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जिप सोमबार बिहान साढे १० बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिप आफैँ अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक सुरज सिंहका अनुसार दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा सिगास गाउँपालिका १ बस्ने २४ वर्षीय निसान्त बोहरा, सिगासकै २८ वर्षीय भानदेव भट्ट, डडेल्धुराको आलिताल गाउँपालिका ३ बस्ने १३ वर्षका राकेश रावल रहेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा जिपमा सवार अन्य सबै यात्रु घाइते भएका छन् । घाइतेहरूको सङ्ख्या यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । केही यात्रुको अवस्था गम्भीर रहेको जनाइए पनि विस्तृत स्वास्थ्य अवस्था र उपचार विवरण आउन बाँकी छ ।

घटनापछि स्थानीयवासी र प्रहरी टोली उद्धारकार्यमा खटिएका थिए । घाइतेहरूलाई नजिकका स्वास्थ्य संस्थामा लगिएको र गम्भीर अवस्थाका यात्रुलाई थप उपचारका लागि अन्यत्र रिफर गर्ने तयारी भइरहेको छ ।

दुर्घटनाको कारण खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।