• २८ पुस २०८२, सोमबार

समावेशी शिक्षाको कार्यान्वयनमा सरोकारवालाको जोड

blog

सचिन पोखे्र

इटहरी, पुस २८ गते । अपाङ्गता भएका बालबालिका, भाषिक तथा सांस्कृतिक विविधता भएका विद्यार्थी तथा सामाजिक रूपमा पछाडि पारिएका समुदायका बालबालिकालाई समावेशी शिक्षामा समेट्न सकिने व्यवहारिक उपायबारे सरोकारवाला पक्षबीच इटहरीमा  छलफल गरिएको छ ।

काठमाडौँ विश्वविद्यालयले यहाँ आयोजना गरेको “समावेशी शिक्षा : नीति र अभ्यास” विषयक कार्यशालामा सहभागी शिक्षाविद् तथा सरोकारवालाले समावेशीशिक्षाको नीति कागजमा मात्र सीमित नभई सबै प्रकारका फरक क्षमता भएका बालबालिकासमेतका लागि हुने गरी व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिएका थिए । 

कार्यशालामा नेपालमा विद्यमान समावेशी शिक्षा सम्बन्धी नीति, संविधान, शिक्षा ऐन तथा स्थानीय तहको भूमिकाबारे सूक्ष्म समीक्षा गरिएको थियो ।

 कार्यक्रममा विज्ञ वक्ताले नीति तहमा नेपालले समावेशी शिक्षालाई सुनिश्चित गर्न पर्याप्त कानुनी व्यवस्था गरेको भए पनि विद्यालय तहमा त्यसको प्रभावकारी कार्यान्वयन अझै कमजोर रहेको धारणा राखेका थिए ।

  सहभागीहरूले नीति र व्यवहार तथा अभ्यासबीचको दूरी नै समावेशी शिक्षा कार्यान्वयनको प्रमुख चुनौती रहेको उल्लेख गरेका थिए ।

कक्षाकोठामा समावेशी वातावरण निर्माण गर्ने तरिका, विभेदरहित शिक्षण विधि, विद्यार्थीको व्यक्तिगत आवश्यकताअनुसार शिक्षण सामग्री प्रयोग गर्ने उपाय तथा सहपाठी सहयोग प्रणालीबारे काठमाडौँ विश्वविद्यालयका शिक्षकहरू प्रिसिमा थापा, रमेश बराल र महेन्द्र थापाले सहजीकरण गर्नुभएको थियो ।

सो अवसरमा आयोजकको तर्फबाट सरिता खतिवडा, सिर्जना तिम्सीना, यादवा रेग्मी र पंकज राय अधिकारीलगायतले समावेशी शिक्षाको सफल कार्यान्वयनले समानता, सामाजिक न्याय र दिगो विकासतर्फ देशलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । 

 कार्यशालाका प्रमुख अतिथि विश्व आदर्श एकेडेमीका अध्यक्ष एवं शिक्षाविद् लेखनाथ घिमिरेले नीति निर्माणसँगै निरन्तर अनुगमन र व्यवहारिक तालिम तथा अभ्यासले मात्र समावेशी शिक्षालाई प्रभावकारी बनाउन सक्ने धारणा राख्नु भयो ।  

इटहरी उपमहानगरपालिकाका प्रवक्ता दिवश पोख्रेलले समावेशी शिक्षाको सफल कार्यान्वयनका लागि शिक्षक सशक्तीकरण, स्थानीय तहको सक्रिय भूमिका, अभिभावक र समुदायको सहभागिता अपरिहार्य रहेकोमा जोड दिनुभयो । 

 समावेशी शिक्षाविद् रञ्जना ढकालले समावेशी शिक्षा कार्यान्वयनमा अझै पनि विभिन्न चुनौतीहरू रहेको उल्लेख गर्दै भौतिक पूर्वाधारको अभाव, प्रशिक्षित शिक्षकको कमी तथा सामाजिक चेतनाको न्यून स्तर प्रमुख समस्या रहेको बताउनुभयो । 

इटहरी उपमहानगरपालिकाका शिक्षा अधिकृत सन्तोष कार्कीले समावेशी शिक्षा नीति निर्माणसँगै प्रभावकारी कार्यान्वयन र समुदायको सक्रिय सहभागिता अनिवार्य रहेकोमा जोड दिनुभयो ।

सो अबसरमा वरिष्ठ समाजसेवी रामचन्द्र अधिकारी, जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देल, विश्व आदर्श एकेडेमीका प्राचार्य गणेश दुलाललगायतले समावेशी शिक्षाको महत्व, आवश्यकता र हाल भइरहेको अभ्यासबारे चर्चा गर्नुभयो । 

 काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनकी कोशी प्रदेश संयोजक प्रितिका बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यशालामा झापा, मोरङ, सुनसरी, काठमाडौँलगायत विभिन्न जिल्लाबाट शिक्षाविद्, निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, शैक्षिक संघसंस्थाका प्रतिनिधि तथा अपाङ्गता अधिकार क्षेत्रमा कार्यरत अभियन्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यशालामा सहभागीहरूले यस्ता कार्यक्रमको सफल आयोजनाबाट विद्यालय तहमा समावेशी शिक्षाको व्यवहारिक अभ्यासलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।