• २८ पुस २०८२, सोमबार

हेटौँडामा महिला मृत अवस्थामा फेला

blog

अनिल पराजुली    

हेटौँडा, पुस २८ गते ।हेटौँडाको राप्ती खोलामा डुबेर एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

हेटौँडा उपमहानगरपालिका–१२, भोर्ले स्थित सुत्केरी खान माइती आउनुभएकी काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–८ घर हुनुभएकी ३७ वर्षीया मिलन स्याङ्तान मृत अवस्थामा फेला पर्नुभएको हो ।

 एक महिनाको शिशु छोडी माइती घरबाट निस्किएपछि स्याङ्तान सम्पर्कविहीन हुनुभएको थियो ।

खोजतलासको क्रममा आइतबार दिउँसो माइती घरबाट करिब तीन किलोमिटर पश्चिमतर्फ आपधाप नजिकै राप्ती खोलामा डुबेको अवस्थामा उहाँको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

हेटौँडा अस्पतालमा पोष्टमार्टम पश्चात मृतकको शव जेठाजु चिजबहादुर तामाङले बुझ्नुभएको प्रहरीले जनाएको छ ।