गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २८ गते । पछिल्लो समय नेपालको समग्र आर्थिक तथा वित्तीय अवस्था क्रमशः सुधारोन्मुख देखिँदा निक्षेप र कर्जा दुवै खाताको सङ्ख्या उल्लेखनीय रूपमा बढ्दै गएको देखिएको छ ।
नेपाल राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्क अनुसार चालु आवको पहिलो पाँच महिनामै निक्षेप खाता छ करोड १५ लाख नाघेको छ भने कर्जा खाता २० लाखभन्दा माथि पुगेको छ ।
राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आव २०८२/८३ को पहिलो पाँच महिनासम्म निक्षेप खाता सङ्ख्या छ करोड १५ लाख ५१ हजार ९८७ रहेको छ । सोही अवधिमा कर्जा खाता सङ्ख्या २० लाख १२ हजार ९९४ रहेको छ ।
निक्षेप खाता अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३९ लाख ८५ हजार २१७ ले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप खाता पाँच करोड ७५ लाख ६६ हजार ७७० थिए ।
यता कर्जा खाता सङ्ख्या पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८४ हजार ८८४ ले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा कर्जा खाता सङ्ख्या १९ लाख २८ हजार ११० रहेको थियो ।
यस्तो निक्षेप खाता वाणिज्य बैङ्कमा पाँच करोड २८ लाख ४२ हजार ८२७ रहेको छ भने विकास बैङ्कमा ७६ लाख ५२ हजार ६१ तथा वित्त कम्पनीमा १० लाख ५७ हजार ९९ रहेको छ । यस्तै कर्जातर्फ पनि वाणिज्य बैङ्कमा १६ लाख ६९ हजार ८९४ रहेको छ भने विकास बैङ्कमा दुई लाख ६५ हजार ८१५ तथा वित्त कम्पनीमा ७७ हजार २८५ रहेको छ ।
समीक्षा अवधिमा राष्ट्र बैङ्कबाट इजाजत प्राप्त बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या (लघुवित्त वित्तीय संस्थासमेत) १०७ रहेको छ । जसमध्ये २० वाणिज्य बैङ्क, १७ विकास बैङ्क, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैङ्क सञ्चालनमा छन् ।
यस्तै बैङ्क तथा वित्तीय संस्था (लघुवित्त वित्तीय संस्थासमेत) को शाखा सङ्ख्या २०८२ असार मसान्तमा ११ हजार ५२६ रहेकोमा २०८२ मङ्सिर मसान्तमा ११ हजार ५१९ पुगेको छ ।
समीक्षा अवधिमा वाणिज्य बैङ्कका शाखा पाँच हजार १०५, विकास बैङ्कका शाखा एक हजार १३१, वित्त कम्पनीका २९१ र लघुवित्त वित्तीय संस्थाका चार हजार ९९२ शाखा सञ्चालनमा छन् ।