• २७ पुस २०८२, आइतबार

कांग्रेसमा सहमति प्रयास जारी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २७ गते । नेपाली कांग्रेसभित्र आन्तरिक एकता, समझदारी र विशेष महाधिवेशनका सन्दर्भमा देखिएको मतभेद समाधानका सन्दर्भमा निरन्तर संवाद अघि बढाइएको छ । कांग्रेसको विशेष महाविधेशन समितिले विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा गरिरहँदा पार्टीको शीर्ष नेतृत्व अन्तरसङ्घर्ष व्यवस्थापन र स्थायी निकासका लागि चरणबद्ध संवादमा जुटेको हो । कांग्रेस नेताले पार्टीलाई एकताबद्ध बनाउने प्रयासस्वरूप शृङ्खलाबद्ध छलफल अघि बढाएका हुन् । 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पुस १८ गतेको बैठकले बहुमतका आधारमा २०८३ वैशाख २८, २९, ३० र ३१ गते पार्टीको १५ औँ महाधिवेशनको मिति तय गरे पनि विशेष महाधिवेशन पक्षधरले आइतबार र सोमबार विशेष महाधिवेश आइतबारदेखि सुरु हुँदै छ । विशेष महाधिवेशन आयोजक समितिको आह्वानमा काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन प्रारम्भ हुने छ । विशेष महाधिवेशनको तयारी भइरहँदा कांग्रेसका शीष नेताहरू सहमतिबाटै निकास निकाल्न शनिबार दिनभरि नै परामर्शमा जुटे । पहिलो चरणको संवादपछि राष्ट्रपति रामचन्द्र पौडेलसँग सभापति शेरबहादुर देउवाले भेटवार्ता गर्नुभयो । उहाँहरूको भेटवार्तामा समसामयिक राजनीतिक विषय र कांग्रेसभित्रको आन्तरिक विवाद निरूपणका सन्दर्भमा पनि छलफल भयो । 

भृकुटीमण्डपमा विशेष महाधिवेशनको चहलपहल सुरु भएपछि कांग्रेसका शीर्ष नेता सघन संवादमा जुटे । संस्थापन पक्ष, संस्थापन इतर पक्ष र महाधिवेशन आयोजक समितिका नेतासँग बिहीबारदेखि सुरु भएको परामर्श शनिबार पनि जारी रह्यो । आइतबार विशेष महाधिवेशन हुनुअघि नै पार्टीभित्रको बहसलाई तार्किक निकासमा पुग्ने गरी बहुपक्षीय संवाद अघि बढाइएको छ । संस्थापन र विशेष महाधिवेशन आयोजक पक्षका नेताले पार्टीभित्रको एकता कायम राखेर निष्कर्षमा पुग्ने गरी चरणबद्ध छलफल गरिरहेका छन् । 

पार्टी एकताकै पक्षमा दृढ 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले गरेको नियमित महाधिवेशनको निर्णय र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित विशेष महाधिवेशनको पक्षमा रहेका नेता आआफ्नै अडानमा कायम रहे पनि निकासका लागि संवाद तीव्र पारिएको छ । सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला, सहमहामन्त्री जीवन परियारसहित नेताले विशेष महाधिवेशनको घोषणापछि दुई कित्तामा पुगेका नेताकार्यकर्ता र पार्टीभित्र देखिएको अन्तरसङ्घर्षलाई मध्यमार्गी विधिबाट समाधान निकाल्न विमर्श भयो ।

सभापति देउवासँगको छलफलमा नेताहरू डा. मीनेन्द्र रिजाल र बालकृष्ण खाण सहभागी हुनुहुन्थ्यो । समझदारीबाटै निकास निकालेर पार्टीलाई एकताबद्ध बनाउने विषयमै बैठकमा छलफल भयो । नेता खाणले संवादबाट निकास आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हो, हामी निरन्तर संवादमै छौँ । पार्टीलाई एकताबद्ध बनाउनु नै हाम्रो लक्ष्य र चाहना हो ।” 

बैठकमा नेता डा. कोइरालाले विशेष महाधिवेशन पक्षधरका माग सम्बोधन हुने र निर्वाचनसँगै १५ औँ महाधिवेशनमा जाने वातावरणका लागि संवाद आवश्यक रहेको बताउनुभयो । जवाफमा सभापति देउवाले आफू पार्टी एकताको पक्षमा रहेको प्रस्ट पार्नुभयो । बैठकमा विशेष महाधिवेशनको विकल्प नियमित महाधिवेशन भए पनि अहिले देखिएको ध्रुवीकरणको निकास कसरी निकाल्ने भन्ने विषयमा सघन छलफल भयो । 

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको घोषणा गरेपछि मध्यमार्गी बाटो निकाल्न शीर्ष नेताहरू संवादमा जुट्नुभएको हो । पार्टीभित्रको सङ्कट हल गर्न महामन्त्री थापा र नेता रमेश लेखकबिच पनि संवाद भएको छ । त्यसै गरी महामन्त्री थापाले सभापति देउवा पक्षका नेता एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठसँग पनि शनिबारै छलफल गर्नुभयो । छलफलपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेता श्रेष्ठले नीतिगत अवधारणा तयार गर्न विशेष महाधिवेशन गर्नुपर्ने बताउनुभयो । 

‘निर्वाचनमा होमिनु पर्छ’ 

कांग्रेस संस्थापन पक्षले विशेष महाधिवेशनले पार्टीलाई कमजोर बनाउने निष्कर्ष निकाल्दै फागुन २१ गतेको निर्वाचनमा एकताबद्ध भएर अघि बढ्नुपर्ने प्रस्ट पारेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले औपचारिक रूपमा नियमित अधिवेशन सम्पन्न गरेर २०८३ वैशाखमा १५ औँ महाधिवेशन गर्ने निर्णय भइसकेकाले सोही निर्णय मान्नुपर्ने बताउनुभयो । 

उहाँले नियमित महाधिवेशनको कार्यतालिका अनुसार काम अघि बढेकाले विशेष महाधिवेशन वैधानिक नहुने र केन्द्रीय कार्यसमितिबाटै सबै निर्णय गराउनुपर्ने बताउँदै विशेष महाधिवेशनमा सहभागी नहुने प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “प्रतिनिधि सभा निर्वाचनमा पार्टीको शक्ति केन्द्रित गर्नु पर्छ । विशेष महाधिवेशन रोकेर एकीकृत भएर निर्वाचनका लागि जुटौँ ।”

‘पार्टी फुट्दैन’

नेता डा. चन्द्रकान्त भण्डारीले विशेष महाधिवेशनकै कारण पार्टीमा फुट नआउने बताउनुभयो । उहाँले शनिबार पत्रकार सम्मेलन गरेर कांग्रेसलाई विभाजन हुन नदिने प्रस्ट पार्नुभयो । उहाँले विशेष महाधिवेशन आह्वान गर्न ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले निवेदन दिए पनि नेतृत्वले बेवास्ता गर्दा पार्टीमा अप्ठ्यारो स्थिति उत्पन्न भएको बताउनुभयो । 

उहाँले कांग्रेसको इतिहासलाई स्मरण गर्दै विशेष महाधिवेशनलाई नीतिगत वा सङ्कल्प महाधिवेशनमा रूपान्तरण गर्ने विकल्प रहेको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “जेनजी आन्दोलनपछि विशेष महाधिवेशन आह्वान भएको भए पार्टीभित्र जागरण आउने र साङ्गठानिक रूपमा बलियो हुने आधार बन्ने थियो । पार्टीलाई रूपान्तरण गर्न विशेष महाधिवेशनलाई नीतिगत बहसमा लैजानु पर्छ ।” 

‘नियमित महाधिवेशनमा जाऔँ’

नेपाली कांग्रेसका पाँच प्रदेश सभापतिसहित विभिन्न जिल्लाका सभापति र कार्यवाहक जिल्ला सभापतिले २०८३ वैशाखमा हुने १५ औँ महाधिवेशनको पक्षमा उभिन आग्रह गर्नुभएको छ । कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापा, मधेश प्रदेश सभापति कृष्णप्रसाद यादव, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, कर्णाली प्रदेश सभापति ललितजङ्ग शाही, सुदूरपश्चिम सभापति वीरबहादुर वलायरसहितका नेताले विशेष महाधिवेशन विधानसम्मत नभएको बताउनुभएको छ । 

गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठ, लुम्बिनी प्रदेश उपसभापतिका राजु खनालसँगै ४४ जिल्लाका सभापति र तीन जिल्लाका कार्यवाहक सभापतिले संयुक्त विज्ञप्तिमार्फत निर्वाचनसँगै नियमित महाधिवेशनमा जुट्न आह्वान गर्नुभएको छ । विज्ञप्तिमा १५ औँ नियमित महाधिवेशन २०८३ वैशाख २८ देखि ३१ गतेसम्मको कार्यतालिका पारित भई नियमित अधिवेशनकै प्रक्रिया अघि बढेको र विशेष महाधिवेशन बोलाउने वैधानिक अधिकार केन्द्रीय तहको मात्र रहेको वैधानिक व्यवस्था भएको स्मरण गराइएको छ । साथै विज्ञप्तिमा विशेष महाधिवेशनको उपयुक्त वातावरण नभएकाले केन्द्रीय कार्यसमितिले सहमतिको प्रयास गरिरहेको उल्लेख गरिएको छ । 

भृकुटीमण्डपमा चहलपहल 

कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा चहलपहल बढेको छ । विशेष महाधिवेशन आयोजनाका लागि मञ्च निर्माणसँगै शृङ्गार गरिएको छ । काठमाडौँसँगै विभिन्न जिल्लाबाट आएका नेताकार्यकर्ता एवं महाधिवेशन प्रतिनिधि आइतबारै भृकुटीमण्डप पुगेपछि माहोल बदलिएको हो । विशेष महाधिवेशन आयोजक समितिले सुन्धारा, कमलपोखरी, रत्नपार्क, शङ्करदेव क्याम्पस र कुपण्डोलबाट ¥यालीसहित प्रदर्शन गर्नका लागि सम्पूर्ण तयारी पूरा गरेको छ । 

शीर्ष नेतालाई निम्तो 

कांग्रेसको विशेष महाधिवेशन आयोजक समितिले सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित शीर्ष नेतालाई विशेष महाधिवेशनको निम्तो पठाएको छ । महाधिवेशन व्यवस्थापन समितिका संयोजक मनोजमणि आचार्यका अनुसार सभापति देउवालाई प्रमुख अतिथिको सम्बोधनसहित निम्तो पठाइएको छ । 

यसैबिच विशेष महाधिवेशन आयोजक समितिले विशेष महाधिवेशनमा ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी गरेको छ । कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले ५४ प्रतिशतभन्दा बढीले विशेष महाधिवेशनको मागसहित निवेदन दिएकोमा उद्घाटन समारोहमा ६० प्रतिशत पुग्ने बताउनुभयो । 

कांग्रेसका कार्यक्रम स्थगित 

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पूर्वकेन्द्रीय सदस्य एवं प्रवक्ता, पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पार्टीका निर्धारित कार्यक्रम स्थगित गरेको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार सम्पन्न बैठकले शनिबार, आइतबार र सोमबार पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयमा झन्डा आधा झुकाउने, पुस २७ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने र स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयमा शोकपुस्तिका राख्ने निर्णय गरेको हो । उहाँले पूर्वमन्त्री दाहालको स्वर्गारोहणको १३ औँ दिनमा सम्बन्धित जिल्ला ओखलढुङ्गामा शोक सभाको आयोजना गर्ने जानकारी दिनुभयो ।

पत्रकारको छलफल 

कांग्रेसभित्र महाधिवेशनका सन्दर्भमा देखिएका मतभेदका सन्दर्भमा पत्रकारले पनि छलफल गरेका छन् । विशेष महाधिवेशन मिडिया सेन्टरका संयोजक जीवन भण्डारीका अनुसार विशेष महाधिवेशन र पार्टीभित्रको विवादबारे वरिष्ठ पत्रकार हरिहर विरही, कुलचन्द्र वाग्ले, तेजप्रकाश पण्डित, गोकर्ण अर्यालसहित नेपाल प्रेस युनियनसम्बद्ध पत्रकारले संवाद गर्नुभएको हो ।