• २७ पुस २०८२, आइतबार

निर्वाचन वैशाख २१ मा गर्नु उपयुक्त हुन्छः पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती

blog

पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती । फाइल तस्बिर

काठमाडौँ, पुस २६ गते। पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचनलाई वैशाख २१ मा सार्नु उपयुक्त हुने धारणा राख्नुभएको छ। 

उहाँले देश तथा विदेशमा रहेका सबै मतदातालाई मतदानको अवसर दिन निर्वाचन–२ महिनापछि सार्न उपयुक्त हुनेतर्क गर्नुभएको हो। 

शनिबार काठमाडौँमा आयोजित आगामी फागुन २१ मा हुने निर्वाचनको विषयमा आयोजित छलफल कार्यक्रममा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीले लोकतन्त्रमा सबैले निर्वाचनमा मत हाल्न पाउने अधिकार भएकाले पनि त्यसको व्यवस्था गर्न पनि निर्वाचन तोकिएको मितिबाट केही समयपछि सार्नु आवश्यक रहेको बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘वैशाख २१ गते निर्वाचन गर्दा के फरक पर्छ भन्ने गर्छु म। मतदातालाई मताधिकार दिने भित्री र बाहिरी मतदातालाई मतदान गर्ने अधिकार दिने समस्या समाधान गर्न सकिन्थ्यो कि। संसारमा विभिन्न टेक्नोलोजी उपलब्ध छ। त्यसलाई ल्याएर हामीसँग पर्याप्त विशेषज्ञ पनि हुनुहुन्छ। टेक्नोलोजीका मास्टर हुनुहुन्छ। उहाँहरुको टेक्नोलोजी प्रयोग गरेर पनि हामी त्यो काम गर्न सक्छौँ जस्तो लाग्छ मलाई।’

कार्यक्रममा बोल्दै पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले तोकिएको मितिमा नै निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभयो। 

संविधान सभा सदस्य एवं कानुनविद् डा. खिमलाल देवकोटाले विद्यमान संवैधानिक प्रावधानमा संशोधन नगरी हुने निर्वाचनले मुलुकलाई सही ढंगले अघि बढाउनसक्ने अवस्था नआउने दाबी गर्नुभयो।