• २७ पुस २०८२, आइतबार

पूर्वमन्त्री चौधरीको निधन

blog

स्वर्गीय चन्द्रकान्त चौधरी।

विनय कर्ण  

कल्याणपुर (सप्तरी), पुस २६ गते। राष्ट्रिय मुक्ति पार्टीका कार्यकारिणी सदस्य एवं पूर्वमन्त्री चन्द्रकान्त चौधरीको ८५ वर्षको उमेरमा निधन भएको छ। डाक्नेश्वरी नगरपालिका-५, पातो निवासी चौधरीको शनिबार बिहान ११ः३० बजे आफ्नै निवासमा निधन भएको हो।

स्व. चौधरी नेपाली राजनीतिमा अनुभवी तथा सम्मानित नेताका रूपमा परिचित हुनु हुन्थ्यो । उहाँ तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सप्तरी निर्वाचन क्षेत्र ३ बाट निर्वाचित हुनु भएको थियो । प्रतिनिधिसभा सदस्यको हैसियतमा उहाँले जलस्रोत, ऊर्जा तथा सिँचाइ राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

राष्ट्रिय मुक्ति पार्टीका उपमहासचिव गजेन्द्र मण्डलले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति भएको बताउनु भयो । चौधरी सरल स्वभाव र विकासप्रेमी नेताका रूपमा लोकप्रिय रहनु भएको उहाँको भनाइ छ।

उहाँको निधनप्रति राजनीतिक दलका नेता, कार्यकर्ता तथा सर्वसाधारणले गहिरो दुःख व्यक्त गरेका छन् । स्व. चौधरीका दुई छोरा र एक छोरी छन्। राजनीतिक जीवनको प्रारम्भिक चरणमा उहाँ लामो समयसम्म नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहनु भएको र पछि मधेस केन्द्रित राजनीतिमा सक्रिय हुँदै उहाँ तत्कालीन राजपामा प्रवेश गर्नु भएको थियो ।