• २७ पुस २०८२, आइतबार

लोकतान्त्रिक शक्तिबिच सहकार्यको खाँचो छ : अध्यक्ष ओली

blog

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्नु हुँदै । तस्बिरः आशिष पौडेल

गोरखापत्र अनलाइन

काठमाडौँ, पुस २६ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको लोकतन्त्र सङ्कटमामा रहेकाले संविधान पक्षधर र लोकतान्त्रिक शक्तिहरूबिच संवाद, न्यूनतम समझदारी र सहकार्यको खाँचो रहेको बताउनु भएको छ ।

नेकपा (एमाले) को दोस्रो केन्द्रीय कमिटी बैठकमा शनिबार यहाँ सम्बोधन गर्नु हुँदै अध्यक्ष ओलीले सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो, “संविधान मिचिएको अवस्थामा छ । जननिर्वाचित सरकारको ठाउँमा संविधान बाहिरको अनिर्वाचित सरकार छ । समाज अराजकता, धम्कीबाट अझै त्रस्त छ । राष्ट्रिय एकता कमजोर हुँदै जाँदा वाह्य चलखेलको जोखिम बढेको छ ।” 

राष्ट्रिय हितको रक्षामा नयाँ चुनौती थपिएको बताउँदै उहाँले थप्नु भयो, “मुलुकमा केही भएन भनेर जबरजस्त सिर्जना गरिएको नकारात्मक भाष्य छ । युवाहरूमा निराशा र अन्यौल छ । समाजमा भ्रम र द्विविधाको अवस्था छ । यसलाई राम्ररी सम्बाेधन गर्नु पर्ने छ । यसका लागि संविधानका पक्षधर र लोकतान्त्रिक शक्तिहरूबिच निरन्तर संवाद, न्यूनतम समझदारी र कतिपय सन्दर्भमा सहकार्य जरुरी छ ।”


प्रतिनिधिसभाको विघटन असंवैधानिक रूपमा गरिएका कारण यसको पुनर्स्थापना हुनु कानुनी हिसाबले आवश्यक, उचित र अपरिहार्य रहेको उहाँको भनाइ छ । “वर्तमान जटिल राजनीतिक परिस्थितिमा प्रतिनिधिसभाको पुनर्स्थापना, सर्वपक्षीय सरकार, बृहत् संवाद, आवश्यकता अनुसार संविधान संशोधन र त्यसपछि निर्वाचन नै राजनीतिक सङ्क्रमण काललाई व्यवस्थित गर्ने सबैभन्दा सुरक्षित, निरापद र भरपर्दो बाटो हो” अध्यक्ष ओलीले भन्नु भयो ।

यस्तो गम्भीर विषयमा न्यायालय अलमलमा रहनु उचित नभएको भन्दै उहाँले ढिलो न्याय गर्नु पनि अन्याय गर्नु हो भन्नु भयो । गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनपछि पुराना दलहरूलाई अल्मल्याउने प्रयास भएको बताउँदै उहाँले नयाँ पुस्ता र पुरानो पुस्तामा कित्ताकाटको प्रयास भएको टिप्पणी गर्नु भयो ।


एमाले निर्वाचनबाट नभाग्ने तर निर्वाचनको उचित वातावरण बन्नु पर्ने उहाँले बताउनु भयो । “शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको वातावरण सरकारले बनाउन सकेको छैन । निर्वाचनको मूल मर्म भनेकै निर्भयताको वातावरण निर्माण हो” उहाँले भन्नुभयो, “भदौ २४ गते भगाइएका कैदीहरूमध्ये ५ हजारभन्दा बढीलाई बाहिरै राखेर, लुटिएका आधुनिक हतियारमध्ये ७ सयभन्दा बढी हतियार र हजारौँ राउन्ड गोली बाहिरै राखेर निर्वाचनको वातावरण तयार हुँदैन ।”