रामकृष्ण बोहरा
बागलुङ, पुस २६ गते । जिल्ला सहकारी सङ्घ बागलुङको अध्यक्षमा खिमबहादुर कार्की सर्वसम्मत चयन हुनु भएको छ । सङ्घको १७ औं वार्षिक साधारणसभाबाट कार्की अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको हो ।
साधारणसभाले कार्कीको नेतृत्वमा ९ सदस्यीय सञ्चालक समिति र डिलबहादुर केसी संयोजक रहनुभएको ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरेको निर्वाचन समितिका संयोजक अधिवक्ता राम शर्माले जानकारी दिनु भयो ।
सञ्चालक समितिको उपाध्यक्षमा पिङ्गला खड्का जिसी, सचिवमा गणेश नेपाली, कोषाध्यक्षमा पूर्णप्रकाश पौडेल तथा सदस्यहरूमा गगनबहादुर पुन, जगन्नाथ सापकोटा, शिवकुमारी खत्री, तिलक खड्का र मनुदेवी गुरुङ चयन हुनु भएको छ । लेखा सुपरीवेक्षण समितिको सदस्यहरूमा थानेश्वर सुवेदी र सरिता अधिकारी पन्त चयन हुनु भएको छ ।
साधारणसभाको बन्दसत्र र उमेदवारहरूको सहमतिमा सर्वसम्मत नेतृत्व चयन गर्नका लागि गठित कार्यदलसँगको परामर्शपछि निर्वाचन समितिले सर्वसम्मत सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यलाई निर्वाचित भएको घोषणा गरिएको छ ।
नव निर्वाचित समितिलाई निवर्तमान अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’ ले बधाई तथा शुभकामना दिँदै सङ्घलाई उचाइमा पुर्याउन आग्रह गर्नु भएको थियो । नवनिर्वाचित अध्यक्ष कार्कीले सहकारीको भावना, जिल्ला सहकारी सङ्घको कार्यादेश अनुसार सबैसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भयो ।