• २७ पुस २०८२, आइतबार

करदाता सेवा अब कोलेनिका परासीबाट

blog

कोलेनिकाबाट करदाता सेवा कार्यालयको शुभारम्भ गरिँदै । तस्बिरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, पुस २६ गते । आन्तरिक राजस्व कार्यालय, भैरहवा अन्तर्गत करदाता सेवा कार्यालय, परासीले प्रदान गर्दै आएका सेवाहरू बिहीबारदेखि कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका), नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बाट औपचारिक रूपमा शुभारम्भ गरिएको छ ।

नवलपरासी (बसुप) का प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले करदातालाई कर चुक्ता प्रमाणपत्र प्रदान गर्दै सेवा शुभारम्भ गर्नु भएको हो । सो अवसरमा आन्तरिक राजस्व कार्यालय, भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले नेपाल सरकार मन्त्रीपरिषद्को २०८२ कात्तिक १७ गतेको निर्णय अनुसार करदाता सेवा कार्यालयहरू खारेज गरिएपछि परासी करदाता सेवा कार्यालयले गर्दै आएका सम्पूर्ण सेवा अब कोलेनिकाबाट सञ्चालनमा ल्याइएको जानकारी दिनु भयो ।

सेवा शुभारम्भ कार्यक्रममा प्रमुख कोष नियन्त्रक कमल सापकोटा, आन्तरिक राजस्व कार्यालय, भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेल, करदाता सेवा कार्यालय, परासीकी प्रमुख माया पन्थी लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख कोष नियन्त्रक सापकोटाले करदाता सेवा कार्यालय, परासीबाट सम्पादन हुँदैआएका सेवाहरू अब करदातालाई सहज, छिटो, चुस्तदुरुस्त तथा प्रभावकारी रूपमा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नु भयो । सोही अनुरूप सेवा प्रवाह गरिने उहाँले बताउनु भयो ।

त्यसैगरी प्रमुख कर अधिकृत पोख्रेलले करदातालाई प्रदान गरिने सेवाको सुनिश्चित्ता र आवश्यक समन्वयका लागि कोलेनिका र आन्तरिक राजस्व कार्यालय, भैरहवाबाट एक–एक जना अधिकृतस्तरको कर्मचारीलाई ‘जिम्मेवार व्यक्ति’ तोकिएको जानकारी दिनु भयो । सेवा प्रवाहका क्रममा करदाताबाट कुनै पनि प्रकारको गुनासो नआउने गरी काम गरिनेमा आफूहरू प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

सेवा प्रक्रियामा कुनै समस्या देखिएमा आन्तरिक राजस्व कार्यालय, भैरहवाबाट अनलाइन प्रणालीमार्फत तत्काल समाधान गरिने समेत पोख्रेलले स्पष्ट पार्नु भयो । करदातालाई ढुक्क भएर सेवा लिन आग्रह गर्नु भयो । करदाता सेवा कार्यालय, परासीको कार्य क्षेत्रभित्र करिब २८ हजारभन्दा बढी करदाता रहेको र यस कार्यालयले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) क्षेत्रलाई सेवा प्रदान गर्दै आएको थियो ।